पक्राउ परेका दुई दर्जनलाई तत्काल रिहा गर्न आन्दोलनकारीको माग
आज कोशी प्रदेशस्तरीय आमहड्तालमा झापामा मात्रै दुई दर्जन आन्दोलनकारी पक्राउ परेका छन् । प्रदेशको नामाकरणमा असहमति जनाउँदै आह्वान गरिएको हड्तालमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडक अवरोध गर्न खोजेका र पसल बन्द गराउँदै हिँडेका दुई दर्जन आन्दोलनकारीलाई प्रहरीले बिहानै पक्रेको हो । प्रदेश नम्बर १ को नामा कोशी राखिएकोमा असहमति जनाउँदै आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न संघसंगठनले आज प्रदेशभर हड्ताल गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका झापाका अनुसार विभिन्न ठाउँमा सडक बन्द गराउँदै हिँडेका २२ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई दमक, बिर्तामोड, काँकडभिट्टालगायत क्षेत्रबाट पक्राउ गरिएको हो ।
यता किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, पहिचान सहितको प्रदेश नं. १ पुनः नामांकन अभियान समिति र किरात राई यायोक्खाले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न आग्रह गरिएको छ । उनीहरुले झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुमार साम्यु, सेमिहाङ पालुङवा, शर्मिला आङ्देम्बे, सनम राजवंशी, कोपिला लावती र सुनिता लामा सुहाङ पक्राउ परेको उल्लेख गरेका छन् ।
त्यसैगरी काकडभिट्टाबाट ओमप्रकाश खापुङ र श्रवण मेचे, दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो लिम्बू, महेन्द्र चाम्लिङ राई, बेनुकुमार लिम्बु, दिपक लिम्बू, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिगबहादुर मादेन, श्याम मादेन, महेन्द्र चाम्लिङ राई, ओमप्रकाश खापुङ, पवन मेचे र याम लोरिङ्देनलाई प्रहरीले पक्रेको उल्लेख छ । चारआलीबाट यलम्बर खम्बुको नाम पनि पक्राउ परेकाको सूचीमा छ ।
टिप्पणीहरू