सात जना राजदूतको ठाउँमा कसलाई पठाउने सुर ?

सात जना राजदूतको ठाउँमा कसलाई पठाउने सुर ?

कूटनीतिक सम्बन्धलाई जीवन्त राख्न महत्वपूर्ण मानिने सात जना राजदूतको पद खाली भैसकेका छन् । राजदूत खाली हुने देशमा क्यानाडा, न्युयोर्क–अमेरिका, जेनेभा–स्वीट्जरलेन्ड, पेरिस फ्रान्स, बैकंक थाइलेन्ड, अबुधावी र कुबेत छन् । पदावधि सकिएपछि युएईका लागि नेपाली राजदूत केपी ढकाल स्वदेश फर्र्किएका छन् भने कुबेतबाट दुर्गा भण्डारी आउँदो हप्ता फिर्ता हुँदै छन् । यसबीच ३ ठाउँमा असार

१५ सम्मलाई राजदूतको म्याद थपिएको छ । त्यसैगरी, अन्य मुलुकबाट पनि पदावधि फर्किने क्रम चल्नेछ । यसरी फर्केर आउने सातै जना परराष्ट्रको सहसचिव दर्जामा कार्यरत छन् । कम विकसित मुलुकको सम्मेलन कतारको दोहामा सम्पन्न भएको छ । सो सम्मेलनमा नेपालका तर्फबाट करिब दुई दर्जन प्रतिनिधि सहभागी हुन पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदूतहरूको नियुक्तिमा ढिलाइ नगर्ने बताए पनि व्यावहारिक रूपमा नियुक्ति प्रक्रिया भने अघि बढाएको पाइन्न । भारतका लागि नेपाली राजदूत शंकर शर्मा प्रधानमन्त्री दाहालको भ्रमणको चाँजो पाँजो मिलाउन हप्ता दिनअघि काठमाडौं आएका थिए । मंगलबार फर्किएका छन् । मार्च २६ तारिख अर्थात् चैत १२ सरकारले विश्वासको मत लिएपछि मात्रै प्रधानमन्त्री दाहालको भारत जाने मिति तय हुने भएको स्रोतले बताएको छ ।

भैरहवामा बनेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अवरोधका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन भएको छ । यसका लागि भारतसँग रुट परमिटलगायत विषयमा कुराकानी भइरहेको छ । मैत्रीपूर्ण भारत भ्रमणपछि प्रधानमन्त्री दाहालले लगत्तै चीनमा हुने बोआओ फोरममा भाग लिने सम्भावना पनि देखिँदैन । किनभने भारतबाट फर्केर आएको भोलिपल्टै चीन जान सक्ने वातावरण हुँदैन । त्यसैले नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले बोआओ फोरममा भाग लिने सम्भावना बन्दै छ भनिन्छ ।

टिप्पणीहरू