जनआस्थाको समाचार प्रभाव:भारतीय प्रहरीद्वारा अपहरित नेपाली ब्यापारी मध्यराती घर फिर्ता

जनआस्थाको समाचार प्रभाव:भारतीय प्रहरीद्वारा अपहरित नेपाली ब्यापारी मध्यराती घर फिर्ता

भारतीय प्रहरीद्वारा हिजो साँझ अपहरण शैलीमा पारी पुर्याइएका कपिलवस्तु चन्द्रौटाका व्यापारी कयुम अन्सारी आज बिहान ४ बजे घर आइपुगेका छन् । उनलाई घरबाटै उठाएर सिमाना कटाइएको थियो । 

स्थानीय अन्सारी डिजल्सका सञ्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटिएफ) ले साँझ ५ बजेतिर अपहरणको शैलीमा लगेको बुझिएको छ । परिवारका अनुसार चार जनाको समूहमा आएका भारतीय प्रहरीले सेतो बोलेरो गाडीमा हालेर लगेका थिए । लेनदेनसम्बन्धी कुरा गर्नुपर्ने देखिएको भन्दै अन्सारीलाई गाडीमा कोचेर ककरहवा नाकाबाट लगिएको थियो । कयुमसँग १० लाख लिनुपर्ने भन्दै चार जना भारतीयले गाडीमा राखेर पारी पुर्याएको बताइन्छ ।

सीमा कटाएर उनलाई लौटान थानामा लगिएको र यता राती नै जनआस्थाको समाचार छाप्छाप्ती भएपछि पैसा दिनुपर्ने नदेखिएको भन्दै भारतीय प्रहरीले आज बिहानीपख छाडिदिएको हो । उनी बिहान ४ बजे घर आइपुगेका छन् ।भारतीय प्रहरी आएर नेपालको प्रहरी चौकी छेउबाट उठाएर लैजाँदा कसैले पनि भेउ नपाएको यो घटना आफैमा रहस्यमय छ । भारतीयले नेपाल आउँदा आफूहरुलाई प्रहरी भनेका थिएनन् । 

परिवारले तत्काल वडा प्रहरी कार्यालयलाई जानकारी गराए पनि सशस्त्र र नेपाल प्रहरीले तत्काल कदम नचालेकोमा उनीहरुको गुनासो छ । बजारबाटै व्यापारी अपहरित भएपछि स्थानीय व्यवसायीले सुरक्षामा गम्भीर लापरवाही भएको भन्दै हिजै विरोध जनाएका थिए ।

टिप्पणीहरू