अब आउँछ रामराज्य

अब आउँछ रामराज्य

धेरै भयो देशमा अराजक राज्य चलिरहेको । अबचाहिँ रामराज्य चल्छ कि भन्ने आशा पलाएको छ । किनभने राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी जो हुनुभएको छ । रामचन्द्रै आएपछि देशमा रामराज्य चल्ने विश्वास गर्न सकिन्छ । अरुको नभए पनि शेरबहादुर देउवाकोचाहिँ रामराज्य चल्ने निश्चित छ । 

योभन्दा अघि रामचन्द्र पौडेलको पहिचान छुट्टै खालको थियो । उहाँ प्रधानमन्त्रीको चुनावमा हार्नुभयो, पार्टी सभापतिको चुनाव पनि हार्नुभयो । हार्नु नै उहाँको विशेष पहिचान बनिसकेको थियो । तर देखाइदिनुभयो, साना साना पदमा हार्नु भनेको ठूलो पदमा जित्नका लागि हो । चुनावमा हारे पनि मान्छेचाहिँ हार्नु हुँदैन । उहाँले सिकाउनुभएको सन्देश यही हो । 

धेरैको आरोप के छ भने उहाँ नामले रामचन्द्र भए पनि काम भने हनुमानको गर्नुहुन्थ्यो । कहिले गिरिजाप्रसाद कोइरालाको हनुमान, कहिले सुशील कोइरालाको हनुमान । काम एउटा, नाम एउटा । अहिले पनि उहाँलाई शेरबहादुर देउवाको हनुमान भन्नेहरू कांग्रेसमै धेरै छन् । (हुन त उहाँ कसको कति हनुमान हुनुहुन्छ, त्यो कांग्रेसीलाई बाहेक अरुलाई के थाहा ?) अहिले शेरबहादुर देउवाले उहाँलाई राष्ट्रपति त बनाउनुभयो । तर पदले राष्ट्रपति भए पनि कामचाहिँ हनुमानकै गर्नुपर्ने हो कि के थाहा ? 
 

टिप्पणीहरू