दुर्गा प्रसाईंको निष्कर्ष : ‘चुनाव हुन गाह्रो छ’
राष्ट्र, राष्ट्रियता र धर्म संरक्षणको अभियान चलाउँदै आएका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेपछि आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन हुन गाह्रो रहेको निष्कर्ष सुनाएका छन् ।
डेढ दर्जनभन्दा बढीको टोलीसहित सिंहदरबार पुगेका प्रसाईंले प्रधानमन्त्रीसँगको भेटमा विगतका आफ्ना भड्काउपूर्ण अभिव्यक्तिका लागि माफी मागेका थिए । तर वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै जनमत–संग्रह मार्फत् नयाँ व्यवस्था तय गर्नुपर्ने माग राखेको बताएका छन् ।
प्रधानमन्त्री कार्यालय बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफ्ना माग र तर्कबारे पुस २ गते आधिकारिक जवाफ प्रधानमन्त्रीले दिने उल्लेख गरे । अगाडि भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई यो व्यवस्था ठीक छैन, जनमत–संग्रहमा जाऔँ भनेको छु। उहाँले सबै अध्ययन गरेर पुस २ मा निर्णय दिन्छु भन्नुभएको छ।’
प्रसाईंले थप चेतावनी दिँदै भने, ‘प्रधानमन्त्रीले सही निर्णय नदिए चुनाव हुन गाह्रो छ।’ सरकारले प्रसाईंको पछिल्लो दाबीबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
अपरान्ह ४ बजेदेखि पौने ६ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ, मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल्सिना पनि उपस्थित थिए ।
प्रसाईंसँगै उनको समूहका प्रेम थापा मगर, प्रेमदीप लिम्बू, देवीप्रसाद संग्रौला, विष्णु बोहरा क्षेत्री, रेणु शाही, कमला चन्द ठकुरी, तेजिन्द्र रायमाझी, विजय थापा, बल बहादुर तामाङ, शक्ति राज शाही, खिलराज शर्मा धिमाल, विनोदमणि भट्टराई, लव न्यौपाने, नारायण भट्टराई, राम केवल गुप्ता, मकबुल शाह, सुशील बराल, मुकुन्द दाहाललगायत वार्तामा बसेका हुन् ।
टिप्पणीहरू