बिहेमा ‘महाधिवेशन प्रतिनिधि’ उपहार !
ओखलढुंगामा नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि छनोटको विवादले पूर्णविराम पाएको छ । निर्वाचित चार प्रतिनिधिको नाम काटेर अन्य चार नेतालाई महाधिवेशन प्रतिनिधि छनोट गरिएपछि दोस्रो पटक हुने भनिएको प्रतिनिधिको निर्वाचन रद्ध गरिएको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृह जिल्ला समेत रहेको ओखलढुंगामा १२ जना महाधिवेशन प्रतिनिधिको लागि ४१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्य सबै पोखरेल पक्षधरका नेताहरु निर्वाचित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुले विवाद सिर्जना गरेकोमा हिजाे अबेर सहमति जुटेको हो ।
बताइएअनुसार ओलीलाई ‘बा’ भन्दै आएकी अखिलकी पूर्व सचिवालय सदस्य तथा लिखु गाउँपालिकाको उपाध्यक्ष अस्मिता थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन नसकेपछि गुण्डु पुगेर गुनासो गरेकी थिइन् । आफ्नो बिहेको निम्तो दिने बाहनामा गुण्डु पुगेकी उनले ओलीसँग कसेको अड्डीबारे मंसिर १८ गते जनआस्थाको अनलाइन संस्करणमा ‘चेलीको बिहेसङ्गै दोहोर्याएर चुनाव’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । जसमा ओलीले थापालाई ‘म छु नि’ भन्दै महाधिवेशन प्रतिनिधि बनाउने प्रतिबद्धता जनाएकोबारे उल्लेख छ ।
सोही दिन ओलीले थापाकै अगाडि संगठन विभाग प्रमुख काशिनाथ अधिकारीलाई फोन गरेर अर्को मतदान गराउन भनेकोमा पोखरेल पक्षधरका नेताहरुले चार प्रतिनिधि दिन सहमति जनाएपछि विवाद साम्य भएको हो ।
यससँगै ओली निकट मानिने उपाध्यक्ष थापा, मोहनकुमार श्रेष्ठ, हर्कबोल राई र सकुन्तला राजभण्डारी प्रतिनिधि चयन भएका छन् । अन्य प्रतिनिधिहरु अम्बिरबाबु गुरूङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, इच्छाकुमारी गुरूङ, टिकाराम धमला, ज्यानु कालिकोटे, राजीव कटुवाल र रमिला मगर श्रेष्ठ भने पोखरेल निकट मानिन्छन् ।
यतिबेला उपाध्यक्ष थापाको बिहेमा अध्यक्ष ओलीले उपहारवापत ‘महाधिवेशन प्रतिनिधि’को उपहार दिएको चर्चा पार्टीभित्र व्यापक छ ।
याे पनि....
चेलीको बिहेसङ्गै दोहोर्याएर चुनाव
टिप्पणीहरू