बालुवाटारले यसरी सोधखोज गरेको थियो पूर्व राष्ट्रपतिको अवस्था
भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच हिजो दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटअघि भण्डारीले जेन जी विध्वंशमा खरानी बनाइएको सिंहदरबारको अवलोकन गर्नुभएको थियो ।
यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग प्रधानमन्त्री कार्कीले बालुवाटारमा भेट गर्नुभयो । सरकार गठनपछि मुलुकको राजनीतिक परिस्थितिलगायत अवस्थाबारे जानकारी लिने क्रममा अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले डा.रामवरणसँग भेट गरेको बताइन्छ । समाजका सबै पक्षसँग चुनावका लागि अपिल गर्ने,भेट्ने योजनामा अर्यालसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल पनि सङ्गै थिए ।
विध्वंशपछि स्वयम् प्रथम राष्ट्रपति बस्दै आएको घरको अवस्था,निवासमा भएको क्षति,जेन जी प्रभाव,अभावबारे गृहमन्त्रीको टोलीले सोधनी गरेको स्रोतले बतायो । त्यसको पर्सिपल्ट यादव बालुवाटार पुग्नुभएको थियो ।
यादव बालुवाटार पुगेर फर्केपछि त्यसको भोलिपल्ट गृहमन्त्री अर्याल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावल पूर्व राष्ट्रपति विद्या भण्डारीको बूढानीलकण्ठ नजिकैको भंगालस्थित क्षतिग्रस्त घर हेर्न गएका हुन् । निरीक्षण भ्रमणपछि बालुवाटारस्थित छोरीको घरमा बस्दै आउनुभएका भण्डारीलाई भेट्न टोली पुगेको हो । त्यतिबेला उहाँले आगलागीबाट ध्वस्त सिंहदरबार अवलोकन र प्रधानमन्त्रीसँग भेट्ने कुरा राखेबमोजिम हिजो भण्डारीसँग प्रधानमन्त्री कार्कीले भेटवार्ता गर्नुभएको हो ।
‘हिजो सिंहदरबार अवलोकनमा जानुभएको हो । त्यो दिन धेरै घर,भवन जलाइयो तर सिंहदरबार जलाइँदा मलाई पीडा भयो,’ भण्डारीको भनाइ उद्धृत गर्दै हिजोको टोलीमा सामेल सुरक्षा स्रोत भन्छ, ‘छानबिनबाट यसको कारण देखिएला भन्ने आश छ । संसद भवन, सर्वोच्च र सिंहदरबार जलाइयो,यो गर्न नहुने काम गरियो ।’
सिंहदरबार अवलोकनसँगै प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम पहिले नै मिलाइएको बुझिएको छ । सोही सिलसिलामा पहिले जलेको सिंहदरबार हेरेपछि हिजो अपरान्ह उहाँहरुबीच भेट भएको हो । अवलोकनको क्रममा पूर्व राष्ट्रपतिले जलेको भित्री भाग पनि हेर्नुभएको थियो ।
त्यतिञ्जेलमा प्रधानमन्त्री पनि किरियामा बसेका काठमाडौंका मेयर बालेन साहलाई भेटेर तीनकुनेबाट सिंहदरबारस्थित आफ्नो कार्यालय आइसक्नुभएको थियो ।
टिप्पणीहरू