प्रचण्ड गाडीबाट हामफालेर भागेपछि सरकार छोड्नुपरेको राप्रपाको गुनासो

प्रचण्ड गाडीबाट हामफालेर भागेपछि सरकार छोड्नुपरेको राप्रपाको गुनासो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुले गरेको विश्वासको बदलामा धोका पाएको गुनासो गरेको छ । 

प्रतिनिधि सभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले यस्तो गुनासो गरेका हुन् । त्यसक्रममा उनले प्रधानमन्त्री प्रचण्डले सहयात्री दलहरुलाई झुक्याएर बाटो मोडेको आरोप लगाए ।  त्यसकारण लाचार भएर बसिरहन उपयुक्त नलागेकाले सरकार छोडेको अध्यक्ष लिङ्गदेनले बताए । 

प्रधानमन्त्री प्रचण्डलाई नयाँ–नयाँ गाडी फेरेर चलाइरहने सवारी चालकसँग तुलना गर्दै उनले भने, ‘गाउँ घरतिर देखिन्छ, एउटा ड्राइभर हुन्छ जो गाडी फेरिरहन्छ । कहिल्यै एउटा गाडीमा टिक्दैन । तर, त्यस्तो ड्राइभर अनुभवी हुन्छ भनिन्छ । त्यस्तै प्रधानमन्त्रीजीलाई पनि हामीले अनुभवी भनेर हाइड्रोजन गाडी दिएका थियौँ । तपाई अनुभवी ड्राइभर हुनुहुन्थ्यो । लाइसेन्सवाला । तर, बिचैमा ओर्लिएर पुरानै गाडी चलाउछु भनेर जानुभयो ।’ 

विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले सरकार छोडेपछि पुनः विश्वासको मत लिनुपरेको धारणा राख्नुभएको थियो । त्यसको जवाफमा अध्यक्ष लिङ्गदेनले आफूहरुलाई सामान्य सोधनीसमेत नगरी प्रधानमन्त्रीले बाटो मोडेपछि सरकार छाड्नु आफूहरुको बाध्यता भएको बताए ।

टिप्पणीहरू