पूर्वराजा भेट्न राप्रपाका नेताहरु हुल बाँधेर झापामा
राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोकेको पूर्वपञ्चहरुको पार्टी राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेटवार्ता गरेका छन् । झापामा रहेका पूर्वराजालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देनसहितका नेताहरुले त्यहिँ पुगेर भेटेका हुन् ।
झापाको दमक हिजो दिउँसो भएको भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, डा धवलशमसेर जवरा र रवीन्द्र मिश्र पनि सहभागी थिए । भेटमा समसामयिक विषयमा कुराकानी भएको राप्रपाका नेताहरुले बताएका छन् ।
चुनावअघि राप्रपामा प्रवेश गरेर बरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रले भेटघाटको फोटो फेसबुकबाट सार्वजनिक गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई देशको मियो भन्दै उनले लेखेका छन्, 'बीचमा देशको 'मियो'। छेउछाउमा हामी!'
राप्रपा सरकारमा गएपछि पछिल्लो समय दुई पक्षबीच सम्बन्ध चिसिएको भनिएका बेला राप्रपाका नेताहरु हुलै बाँधेर ज्ञानेन्द्र भेट्न झापा झर्नुलाई अर्थपूर्ण मानिएको छ । मेडिकल बिचौलिया भनेर चिनिएका झापाका दुर्गा प्रसाईंले महाभियानका नाममा पूर्वराजाको विश्वास जितेपछि अत्तालिएका राप्रपाका नेताहरुको आग्रहमा उक्त भेटघाट सम्भव भएको राप्रपाका एक नेताले बताए।
टिप्पणीहरू