गठबन्धनमा भागबण्डाबारे कुरा भएन, सरकार विस्तार अनिश्चित
मन्त्रालय भागबण्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक ठोस निर्णय नगरी टुंगिएको छ ।
आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल सरकार विस्तार गर्ने सहमति गरेपनि भागबण्डाका विषयले प्रवेश नै नपाएको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार गठबन्धनका दलहरुले चाँडो भन्दा चाँडो क्याविनेट विस्तार गर्ने सहमति गरेका छन् ।
तर, मन्त्रालय भागबन्डाबारे भने छलफल नभएको उनले जानकारी दिए । 'समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ', लेखकले भने ।
एमालेसहितको पुरानो गठबन्धन टुटेपछि १६ वटा मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा छ । जसका कारण गठबन्धनसामु तत्काल क्याविनेट विस्तार गर्नुपर्ने दबाब छ ।
विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी थियो । तर, गठबन्धनमा रहेका ११ वटा दललाई मन्त्रालय भागबण्डा मिलाउनुपर्ने बाध्यताका कारण सरकार विस्तार गर्न सकस परेको देखिन्छ ।
यसैबारे छलफल गर्न आज गठबन्धनका शीर्ष नेताहरु बैठक बसेका हुन् ।
टिप्पणीहरू