तनहुँमा आयोजित भूतपूर्व सैनिक–सम्मेलन सम्पन्न
भूतपूर्व सैनिकहरुको तनहुँ सम्मेलन सम्पन्न भएको छ । भूतपूर्व सैनिकहरुको हित, सेवा सुविधा र गुनासाबारे धारणा बनाउन नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘भूतपूर्व सैनिक सम्मेलन’ तनहुँको खैरेनीटारस्थित नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डामा सम्पन्न भएको हो ।
तनहुँ, गोरखा र लमजुङ जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरुको सहभागितामा आयोजित सम्मेलनमा सैनिक मेडिकल टिमद्वारा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न प्रकारका स्वास्थ्योपचार सेवा समेत प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाको कल्याणकारी बोर्डले आयोजना गरेको सम्मेलनमा लमजुङका ८७ वर्षीय सिपाही कृष्णबहादुर रावल र स्वर्गीय सुवेदार थिरबहादुर खत्रीकी श्रीमती गोरखाकी ९४ वर्षीया एकल महिला दीर्घकुमारी खत्रीलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायीहरु दुई जनालाई प्रशंसापत्र एंव पुरस्कारसमेत वितरण गरिएको बताइएको छ ।
सोही क्रममा चार वा सोभन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका छ जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त दश जनालाई ह्विल चेयर तथा बैशाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन चैत २० गते महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा र चैत २१ गते सिन्धुलीस्थित बर्दबहादुर गणमा सञ्चालन हुने छ । हिजो पोखरामा भएको थियो । हिजो र आजको कार्यक्रममा प्रमुख अतिथि प्रधान सेनापति प्रभुराम शर्मा हुनुहुन्थ्यो ।
टिप्पणीहरू