प्रधानमन्त्रीलाई मूर्दावाद भन्दा मुख थुनिएकाहरु जेल चलान

प्रधानमन्त्रीलाई मूर्दावाद भन्दा मुख थुनिएकाहरु जेल चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो अभद्र व्यवहारको कसूरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिए पनि धरौटी नतिरेपछि उनीहरुलाई कारागार पठाइएको प्रहरीले जनाएको छ ।

कारागार चलान हुनेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत छन् ।

गत मंगलबार बानेश्वरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्न पुग्नुभएका प्रधानमन्त्री प्रचण्डविरुद्ध उनीहरुले नाराबाजी गरेका थिए । प्रधानमन्त्रीलाई व्यक्तिगत लान्छना लगाउने गरी युवाहरु उग्र बनेपछि प्रहरीले तत्काल पक्राउ गरेर अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो ।  

प्रहरीले नारा लगाउन खोज्दै गरेका ति युवाको मुख थुन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य भनिएका उनीहरुलाई केही राजनीतिक दलका नेताले उक्साएको आरोप पनि छ ।

टिप्पणीहरू