अतिथि झुल्किए ११ बजे,प्रमुख अतिथिद्वारा रिबन काटियो साढे ९ बजे

अतिथि झुल्किए ११ बजे,प्रमुख अतिथिद्वारा रिबन काटियो साढे ९ बजे

समय पालनाको सवालमा नेपालका राजनीतिज्ञहरु निकै कमजोर मानिन्छन् । तोकिएको समयमा नपुग्नु त नेपाली समाजको विशेषता नै हो । विशेषगरी यस्तो अवस्था ठूलाबडा र जिम्मेवारीपूर्ण ओहोदामा बसेकाहरुमा लागु भएको पाइन्छ । 

तर आज एक जना वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्रीले तोकिएको समयमै कार्यक्रमस्थलमा पुगेर उद्घाटन गरिदिएपछि आयोजकहरुले तीन चित खाएका छन् । आयोजकमध्ये अधिकांशले निवासबाट कार्यक्रमस्थलमा जाने तयारी गरिरहँदा प्रमुख अतिथि पुगेर प्रदर्शनी उद्घाटन गरेको बताइन्छ ।

आजदेखि नेपाल आर्ट काउन्सिलमा पुराना मुद्रा र सिक्काको प्रदर्शनी शुरु भएको छ । पर्सिसम्म चल्ने प्रदर्शनीमा नेपालका ऐतिहासिक कालदेखिका सिक्का र पुराना कागजी नोट हेर्न पाइन्छ । सोही प्रदर्शनीको उद्घाटन भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान तोकिएको समयमै गर्नुभयो ।

नेपाल फिलाटेलिक सोसाइटीले आयोजना गरेको कार्यक्रममा नयाँ पुस्ताले कहिल्यै नदेखेका पुराना मुद्रा र सिक्का राखिएको छ । तीन दिनसम्म हुने प्रदर्शनीमा आज भारतीय आगन्तुकको बाक्लो उपस्थिति रहेको बुझिएको छ ।

कार्यक्रम शुभारम्भ गर्न सोसाइटीले पहल गरेको प्रमुख अतिथि खोजीको किस्सा पनि रमाइलो छ । उक्त कार्यक्रम उद्घाटन गरिदिन पहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग समय माग गरिएको थियो । तर,उहाँसँग समय नमिलेपछि राष्ट्रपति रामचन्द्र पौडेल वा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निम्तो पुर्याइयो । त्यताबाट पनि कुनै खबर नआएपछि अन्तिम विकल्पको रुपमा प्रमुख अतिथिको निम्ति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बोलाइएको थियो । 

सँधै ढिलो उपस्थित भएर कार्यक्रमका आयोजक र सहभागीहरुलाई अप्ठेरो पारिदिने नेताहरुको भीडमा फरक परिचय बनाउनुभएका अध्यक्ष नेपालले आज आयोजकहरु देखा नपर्दै पुगेर औपचारिक कार्यक्रम उद्घाटन गरिदिनुभयो । क्याबिनेट विस्तारलगायत राजनीतिक भेटघाटको चाप रहेको बताउँदै उहाँ तोकिएको समयमै त्यहाँ जाँदा कार्यक्रमस्थल चकमन्न थियो ।

टिप्पणीहरू