बोकालाई संगिनी सुई लगाउने व्यक्ति पशु कार्यकर्ता
महिलाले लगाउने गर्भ निरोधक संगिनी सुई बोकालाई लगाइदिने व्यक्ति ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता रहेको खुलेको छ । गुल्मीको धुर्कोट गाउँपालिकाले नीजि क्षेत्रको पशु सेवामा कार्यरत उनीहरुलाई आइन्दा यस्तो नगर्न चेतावनीसमेत दिएको छ।
गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका बोकापाठालाई संगिनी सुई लगाएको पाइएपछि प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले यस्तो कार्य गैरकानुनी भएकाले कारवाही हुने बताए । उनका अनुसार सोही वडाको प्राइभेट सेक्टरमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले बोकापाठालाई तीन महिले संगिनी सुई लगाइदिएका हुन् ।
‘धुर्कोट गाउँपालिका क्षेत्रअन्तर्गत वडा नं. १ नयाँगाउँ र वडा नं. ७ वाग्लाका केही पशुहरु (बोकेपाठा) मा सोही वडाको प्राइभेट सेक्टरमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुबाट नियम विपरीत महिलामा प्रयोग गर्ने हर्मोन संगिनी सुई पशुमा प्रयोग गरेको भन्ने जानकारी आएको हुँदा उक्त हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्नजाने भएकोले सो कार्य जो सुकैले गर्दै गराउँदै आएको भएतापनि यथासिघ्र बन्द गराउनुहुन अनुरोध छ,’ पालिकाको सूचनामा भनिएको छ, ‘साथै, आगामी दिनमा सो कार्य गर्ने गरेको पाइएमा दुवैलाई कानूनबमोजिम दण्ड सजाय गरिने व्यहोरा जानकारी गराइन्छ ।’
टिप्पणीहरू