प्रधानमन्त्रीले माग्ने बितिक्कै माधव नेपालले मन्त्रीको नाम दिने

प्रधानमन्त्रीले माग्ने बितिक्कै माधव नेपालले मन्त्रीको नाम दिने

सरकारमा जाने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले पाउने मन्त्रालयको संख्या नटुंगिएसम्म भावी मन्त्रीको नाम सार्वजनिक नगर्ने भएको छ । 

आज बसेको सचिवालय बैठकले पार्टीले पाउने मन्त्रालय टुंगो लागेपछि तत्काल बैठक बसेर मन्त्री हुनेहरुको नाम टुंग्याउने निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम मागेपछि तत्काल बैठक बसेर निर्णय गर्ने बताए । 

‘सरकारमा सहभागिताको विषयमा व्यापक छलफल गरेका छौं । प्रधानमन्त्रीज्यूले मागेपछि तत्काल बैठक बसेर हामी नाम पठाउने छौं’, उनले भने । प्रवक्ता खतिवडाका अनुसार कुन र कति मन्त्रालय पाउने भन्ने विषयमा कार्यदलले प्रस्ताव गरिसकेकाले सोहीअनुसार गठबन्धनमा सहमति खोजिने छ । 

प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीले गृहसहित तीनवटा मन्त्रालयमा दाबी गरिरहेको छ । आज बिहान अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको भेटमा सोही अडान राखेको बताइएको छ । तर, प्रधानमन्त्रीले भने दुईवटा मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेको स्रोतको दाबी छ । 

आजको बैठकले पार्टीबाट राजीनामा दिएका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै, हिजोदेखि काठमाडौंको सडकमा आन्दोलरत मीटरब्याजी पीडितहरुको माग जायज र संवेदनशील रहेकाले त्यसप्रति समर्थन र ऐक्यबद्धता जनाउने बैठकको निर्णय छ ।

टिप्पणीहरू