प्रधानमन्त्रीलाई मूर्दावाद भनेपछि मुख थुनिएकाहरु धरौटीमा छुटे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा समातिएका तीन जना युवा धरौटीमा छुटेका छन् । हिजो जेल चलान भएका बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत जनही ५ हजार धरौटी बुझाएर आज रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्ति उनीहरुलाई अभद्र व्यवहारको कसूरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी नतिरेपछि जेल पठाइएको थियो । आज तोकिएको धरौटी रकम दाखिला गरेर जेलबाट रिहा भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
गत मंगलबार बानेश्वरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्न पुग्नुभएका प्रधानमन्त्री प्रचण्डविरुद्ध ती युवाले नाराबाजी गरेका थिए । प्रधानमन्त्रीलाई व्यक्तिगत लाञ्छना लगाउने गरी उग्र बनेपछि प्रहरीले तत्काल पक्राउ गरेर उनीहरुलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो ।
प्रहरीले नारा लगाउन खोज्दै गरेका ती युवाको मुख थुन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘स्वतन्त्र युवा अभियन्ता समूह’ का सदस्य भनिएका उनीहरुलाई केही राजनीतिक दलका नेताले उक्साएको आरोप पनि छ ।
टिप्पणीहरू