रवि लामिछानेलाई पदच्यूत गराउने युवराजद्वारा प्रधानमन्त्रीलाई पत्र

रवि लामिछानेलाई पदच्यूत गराउने युवराजद्वारा प्रधानमन्त्रीलाई पत्र

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नोटबन्दीको माग गर्दै आज प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । 

प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै उनले पठाएको ध्यानाकर्षण पत्रमा तत्काल एक हजार र पाँच सय दरका नोटलाई नोटबन्दी गर्न माग गरिएको छ । ५ बुँदे ध्यानाकर्षणपत्रमा मुलुकको आर्थिक अवस्था जर्जरतातर्फ गएको र यो हेर्दा मुलुक श्रीलंका बन्ने बाटोमा उन्मुख भएकाले नोटबन्दी गरिनुपर्ने तर्क अघि सारिएको छ ।

युवराजले गैरकानूनी रुपमा आयआर्जन गरी लुकाएर राखेको सम्पत्ति राष्ट्रियकरण गर्न पनि माग गरेका छन् । त्यस्तै, एनसेललगायत अन्य विभिन्न निकाय एवम् व्यवसायी संस्थाहरुले तिर्न बाँकी रहेको रकम तत्काल असुलउपर गरी राष्ट्रिय ढुकुटीमा ल्याउने व्यवस्था मिलाउनसमेत उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

विभिन्न व्यक्ति एवम् व्यवसायीहरुले राष्ट्रलाई धराशायी बनाउन कर छलीजस्ता गतिविधि गरेकाले तत्काल ती व्यक्ति, कम्पनी र निकायलाई करको दायरामा ल्याउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

युवराज तिनै हुन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । रद्द भइसकेको नेपाली नागरिकता देखाएर पार्टी दर्ता गरेको र चुनावमा उठेको दाबीसहित उनले हालेको रिटमा अदालतले दोषी ठहर गरेपछि उनको सांसद, मन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको जिम्मेवारी गुमेको थियो । 

आफूलाई चित्त नबुझेको विषयमा खरो टिप्पणी गर्ने र उजुरबाजुर गरिहाल्ने युवराज पछिल्लो समय चर्चासँगै विवादमा पनि तानिने गरेका छन् ।
 

टिप्पणीहरू