रवि लामिछानेले आफू मन्त्री बन्न नपाएसम्म कसैलाई सरकारमा ढिम्किन नदिने,पार्टीमा किचलो

रवि लामिछानेले आफू मन्त्री बन्न नपाएसम्म कसैलाई सरकारमा ढिम्किन नदिने,पार्टीमा किचलो

गत आमनिर्वाचनमा एकाएक ७ प्रत्यक्ष र १३ समानुपातिक सिट जितेर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले दोहोरो नागरिकता काण्डमा दोषी ठहर गरेपछि ठप्पप्रायः छ ।

अदालतको फैसलाबाट एकैपटक गृहमन्त्री, सांसद,पार्टी सभापति र संसदीय दलको जिम्मेवारीबाट विमुख भएपछि पार्टीका अन्य मन्त्रीलाई समेत उनले सरकारबाट फिर्ता बोलाएका थिए । अहिले उनी चितवन  निर्वाचन क्षेत्र नम्बर २ को आगामी उपनिर्वाचनमा होमिएका छन् । आफ्नै काण्डले रिक्त भएको क्षेत्रमा उनी पुनः उठ्दैछन् । 

यसबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उक्त पार्टीभित्र असन्तुष्टि भुसको आगोझैँ सल्किएको बताइन्छ । आफ्नो अनुपस्थितिमा १९ जना सांसदमध्ये कसैलाई पनि मन्त्री बनाउन तयार नभएका उनले यसबीच पुनः गैर सांसदको तर्फबाट मन्त्री हुन पहल गरेको बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले उनको अनुरोधलाई गैर सांसदलाई मन्त्री नबनाउने सन्दर्भ उल्लेख गर्दै अस्वीकार गरेपछि रास्वपाभित्रबाट असन्तुष्टिको गन्ध बाहिर आएको हो । ‘छ महिनासम्म सांसद नभए पनि मन्त्री हुन पाइन्छ । म अरु साथीहरुलाई भन्छु । मेरै कारणले पार्टीले २० सिट जितेको हो । मैले भनेपछि उनीहरुले मान्छन् । मै सरकारमा नजाने हो भने अरुलाई किन पठाउँछु ?,’ प्रधानमन्त्री दाहालसँगको कुराकानीमा रविको दावी उल्लेख गर्दै स्रोतले भन्यो ।

अर्कोतर्फ रविका अरु सांसदलेसमेत यसबीच प्रधानमन्त्रीसँग बालुवाटारमा भएको भेटमा मन्त्री नियुक्तिबारे कुरो उठाएको बताइन्छ । ‘रविले मचाहिँ बाहिर बस्ने ? म जान पाउने हो भने ठीक छ । होइन भने कोही पनि नजाने,’ भनेर दिएको अभिव्यक्ति बालुवाटारमा सुनेपछि रास्वपाका सांसदहरुमध्ये अधिकांशले तिरिमिरी महसुस गरेका हुन् । स्वयम् रविसँग अति निकटस्थको रुपमा चिनिएका सांसदहरुले भने बालुवाटारले पार्टीभित्र अस्वस्थ खेल खेलेको आरोप लगाएका छन् ।

टिप्पणीहरू