‘विद्यार्थीलाई तोकिएको स्थानबाट मात्र पोशाक खरिद गर्न बाध्य नबनाउनु’

‘विद्यार्थीलाई तोकिएको स्थानबाट मात्र पोशाक खरिद गर्न बाध्य नबनाउनु’

विद्यार्थीलाई तोकेको स्थानबाट पोशाक खरिदको निम्ति बाध्य नबनाउन काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ । पछिल्लो समय संस्थागत विद्यालयहरुले विद्यार्थीलाई विद्यालयबाट नै पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो आएपछि महानगरपालिकाले त्यस्तो निर्देशन दिएको बताइएको छ । 

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधनसहित) मा विद्यालय आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने, तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य गराउन नपाउने व्यवस्था रहेको उल्लेख गर्दै यस्तो कार्य नगर्न अनुरोध गरिएको उल्लेख गरे ।

उनले विभागमा बारम्बार अभिभावकहरुको गुनासो आउने गरेकाले अनिवार्य रुपमा निर्देशिकाबमोजिम गर्न/गराउन सबै संस्थागत विद्यालयहरुलाई आग्रह गर्दै नियमको उल्लंघन गरेको पाइएमा कडा कानूनी कारबाही गरिने चेतावनी समेत दिएका छन् । 

‘कतिपय विद्यालयले विद्यार्थी तथा अभिभावकलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेश्नरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका बमोजिम गर्न÷गराउन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘यदि नियम उल्लंघन गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने र सोको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने समेत जानकारी गराइन्छ ।’

टिप्पणीहरू