उम्मेदवारी दर्तालगत्तै रवि लामिछानेविरुध्द अदालतमा मुध्दा दर्ता

उम्मेदवारी दर्तालगत्तै रवि लामिछानेविरुध्द अदालतमा मुध्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुध्दा चलाउनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ । 

यसअघि लामिछानेको नागरिकता अवैध रहेको दावी गर्दै मुध्दा हालेका युवराज सफलले राहदानी दुरुपयोगको कसूरमा सजाय माग गर्दै हिजो रिट लगेका थिए । उक्त रिटको अध्ययनपछि सर्वोच्च प्रशासनले आज दर्ता गरेको हो ।  रिटको पेशी भोलिका लागि तोकिएको छ ।

महान्यायाधिवक्ता कार्यालयलाई समेत विपक्षी बनाइएको रिटमा अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएकोले लामिछानेउपर कानुनबमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै परमादेश माग गरिएको छ । यसअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुध्द मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । 

यता लामिछानेले भने विदेशको स्थायी आवासीय अनुमति पत्र त्यागेको कम्तिमा तीन महिनापछि मात्रै नियुक्ति,उम्मेदवारका लागि योग्य हुने कानुनी प्रावधान मिचेर उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ मा चितवन-२ बाट चुनाव जितेका उनको नागरिकता अवैध ठहर भएपछि रिक्त रहेकाले बैशाख १० गते हुने उपचुनावका लागि उनले सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन गरेका हुन् ।

 

टिप्पणीहरू