विद्या भण्डारी राजनीतिमा फर्कने बाटो बन्द

विद्या भण्डारी राजनीतिमा फर्कने बाटो बन्द
सुन्नुहोस्

हुन त, एमालेमा अध्यक्ष केपी शर्मा ओलीको बोली नै पार्टीको निर्णय हुन्छ भनिन्छ, तर वर्तमान सत्ता समीकरणका सम्बन्धमा भने तलदेखि माथिसम्म परस्पर फरक धारणा आउन थालेको छ । एमालेको दोस्रो तहका नेताहरू कांग्रेससँग ‘दोस्ती कस्न’ भित्रभित्रै सक्रिय रहेको चर्चा चलिरहँदा त्यसलाई पुष्टि गर्नेगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत केही नेता खुल्न थालेका छन्् । 

ईश्वरले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा राखिरहँदा अध्यक्ष ओलीका विश्वासपात्र मानिने महासचिव शंकरको पनि भित्री चाहना त्यस्तै बुझिन्छ । अर्कोतिर कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाहरूले खुलेरै एमालेसँग मिल्नुपर्नेमा जोड दिइरहेको अवस्था छ । अध्यक्ष ओलीसहित पार्टीको सिंगो पंक्ति अहिलेको समीकरणकै पक्षमा रहँदा ओलीपछिको वरीयतामा रहेका नेताले गगन र शेखरको बोलीमा लोली मिलाउन थालेपछि वैकल्पिक गठबन्धन बनाउने कसरतमा रहेका आन्तरिक तथा बाह्य शक्ति त हौसिने नै भए, सँगसँगै माधव, झलनाथ र वामदेवहरूको बहिर्गमनपछि पार्टीमा निर्विकल्प भनिएका ओलीमाथि चुनौती बढेको पनि अनुमान हुन थालेको छ । 

ईश्वर र शंकर विगतदेखि नै माओवादीसँगको सहकार्यलाई लिएर अनुदार रहँदै आएका नेता हुन् । तर, अध्यक्षको इच्छाका अगाडि त्यस्ता असन्तुष्टिले एमालेमा खासै अर्थ राख्ने देखिँदैन । दुई दिनसम्म चलेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापनपछि आइतबार एमालेले पारित गरेको समसामयिक प्रस्तावमा अहिलेको सत्ता समीकरणप्रति जोडदार समर्थन गरिनुले त्यसको पुष्टि हुन्छ । समीकरण बन्नुलाई ठूलो राजनीतिक उपलब्धिका रूपमा ब्याख्या गर्दै यसलाई जोगाएर लैजान एमालेले साझेदार अन्य दललाई आह्वानसमेत गरेको छ । त्यसैले एउटा कुरा के प्रष्ट छ भने ओलीले चाहेसम्म एमाले सत्ता समीकरणविरुद्ध जाँदैन । 

तर, राजनीतिक स्थायित्व र स्थिर सरकारका नाममा कांग्रेस–एमालेलाई मिलाउने र त्यसैमा टेकेर निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गराउने आन्तरिक तथा बाह्य चलखेललाई एमालेले कहिलेसम्म थेग्ला ? भन्ने प्रश्न चैं ज्यूँकात्यूँ छ । कांग्रेससँग मिलेर सरकार गठन गर्नुपर्ने वरिष्ठ नेताहरूको सार्वजनिक अभिव्यक्तिमा ओलीको खण्डन नआएको स्थितिले शंका गर्नेहरूलाई ठाउँ दिएको छ । सत्ता साझेदार एकीकृत समाजवादीका एक नेताले शंका गर्दै भने, ‘यता प्रचण्डलाई खुशी बनाएर राजकीय पदहरू भकाभक लिने, उता कांग्रेससँग मिल्नुपर्छ पनि भनिरहने । यसबाट उहाँहरू दुइटा डुंगामा खुट्टा राखेर हिंड्न खोजेको हो कि भन्ने देखिन्छ ।’

नयाँ गठबन्धन बनेसँगै एक वर्षपछि सत्तामा पुनरागमन गरेको एमालेले महत्वपूर्ण राजकीय पदहरू हात पारिसकेको छ । राष्ट्रिय सभाको उपाध्यक्ष पाएको उसले राष्ट्रपतिबाट मनोनीत कोटामा अञ्जान शाक्यलाई सांसद बनाउन सफल भएको छ । महालेखा परीक्षक पनि पाइसकेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयको रेक्टर नियुक्त भएका खड्ग केसीसमेत एमालेनिकट नै हुन् । 

जसपा र एकीकृत समाजवादीभित्रको आन्तरिक समस्याले सरकार अप्ठेरोमा परेको भनिएको छ । तर, गठबन्धनको सबैभन्दा ठूलो घटक र बढी लाभ लिएको पार्टीकै नेताहरू कांग्रेससंग मिल्नुपर्ने लाइनमा उभिएको स्थितिले एमालेमा पनि सरकारप्रतिको धारणामा एकमत नरहेको प्रष्ट हुन्छ । गठबन्धनलाई लिएर इश्वर पोखरेलहरूको फरक धारणालाई सो पार्टीका केही नेताले एमालेभित्रको आन्तरिक विवादको परिणामका रूपमा बुझेका छन् । पार्टीका औपचारिक बैठकमा बोल्न नसक्ने एक नेताले अनौपचारिक कुराकानीमा त्यस्तो खुलाएका हुन् । ओलीले हालै ‘जुँगा पनि कालो हुँदै आएकाले २० वर्ष अरुले आशा नगरे हुन्छ’ भनेको स्थितिमा अध्यक्षलाई खुशी तुल्याएर सहजै नेतृत्वमा पुग्ने अभिलाषा पालेकाहरू अझै २० वर्ष थपक्क पर्खेर बस्नुपर्ने भएपछि त्यसको उकुसमुकुस विभिन्न कोणबाट प्रकट हुन थालेको अनुमान लगाइएको छ । 

पार्टीभित्र फरक विचार समूहप्रति निर्मम हुने अध्यक्ष ओलीलाई आलोचना सहन नसक्ने नेताका रूपमा चिनिन्छ । त्यसकारण उहाँको नेतृत्वमाथि प्रश्न उठाए भीम रावल बनिने बुझेका नेताहरू त्यस्तो आँट गर्दैनन् । तर, भित्रभित्रै भने विकल्प खोज्नुपर्छ भन्नेहरू ठूलै संख्यामा छन् । केही अगाडि पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्काएर उहाँकै नेतृत्वमा एमाले, माओवादी र एकीकृत समाजवादीलाई एकतावद्ध गराउन विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, कर्ण थापा, गोकुल बाँस्कोटाहरू कस्सिएर लागेका थिए । तर, ओलीले सिधा–सिधा अस्वीकार गरेपछि त्यसले परिणाम दिन सकेन । 

कथं विद्या पार्टीमा फर्किए ओलीको नेतृत्वमाथिको चुनौती थपिने त निश्चितै छ, साथै एमालेभित्रको अहिलेको समीकरण पनि बदलिन्छ । त्यस्तो स्थितिमा पार्टी विधानबाट ७० वर्षे उमेर हद निलम्बन गराएर पुनः अध्यक्ष बन्ने तयारीमा रहेका ओलीका लागि चुनौती थपिनेछ । त्यसकारण विद्यालाई एमालेमा फर्काउने प्रयासलाई अध्यक्षले नरुचाएको भनिएको थियो । अहिले उनै पूर्वराष्ट्रपतिलाई एमालेले ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेकोमा कतिपय नेताले अर्कै अर्थ लगाएका छन् । संधैको लागि राजनीतिमा फर्कने बाटो बन्द गराउने प्रयासअन्तर्गत त्यस्तो सम्मान दिइएको एक नेताले टिप्पणी गरे । 

तर, बालकोट निकटहरूले भने यसलाई राजनीतिक अर्थ लगाएर पूर्वराष्ट्रपति र अध्यक्षबीचको सम्बन्ध बिगार्न गरिएको प्रयास ठानेका छन् । ‘गणतन्त्र गौरव भनेको राजनीतिभन्दा माथि हो । कम्युनिष्ट आन्दोलनबाट स्थापित नेता गणतन्त्रको प्रतीक राष्ट्रपति पदमा पुग्नु आफैँमा महत्वपूर्ण कुरा हो’, एक नेता भन्छन्, ‘कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर सम्मान गर्दा त्यसैलाई राजनीति देख्नु पूर्वाग्रहबाहेक केही होइन ।’ 
पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीलाई राज्य सत्ताको निर्णायक ठाउँमा पु¥याउन मदन भण्डारीको मुख्य भूमिका रहेको एमालेको दावी रहँदै आएको छ ।

विद्या स्वयमले पनि निकटहरूसँग कुराकानी हुँदा ‘जनताको बहुदलीय जनवादलाई स्थापित गर्ने भन्छौँ तर त्यसलाई समाजमा ग्राह्य गराउने काम मबाट भयो’ भन्ने गर्नुभएको स्थिति हो । आफूलाई समाजले स्वीकार्नु र गणतन्त्रको राष्ट्रपति हुनुलाई मदन भण्डारीले अघि सारेको बिचारको सम्मान हुनु हो भन्ने उहाँको भनाइ रहँदै आएको छ । 

त्यसो त, विद्या आफैँ सक्रिय राजनीतिमा फर्किन नचाहेको बुझिन्छ । एमालेमा फर्किने सम्भावना नरहेको तर, कम्युनिष्ट एकताका लागि भने उहाँको सदाशयता रहेको निकटहरूले बताउने गरेका छन् । अर्कोतिर, अहिले एमालेको सांगठानिक संरचना यस्तो छ कि ओलीको सहमति बिना विष्णु पौडेलहरूले लबिङ गरेर वा विद्या आफैंले चाहेर पनि सम्भव देखिँदैन । 

विद्या भण्डारीलाई तलबाट तानेर ल्याएको केपी ओलीले नै हो भन्ने एमालेको राजनीति बुझेका सबैलाई प्रष्ट थाहा छ । हिजो एमालेको राजनीतिमा रहँदा उहाँले नै हो, ओली गुट चलाइदिएको । मदनको निधनपछि माधव नेपाल १५ वर्ष एमालेको महासचिव हुँदा विद्या संस्थापनसँग कहिल्यै निकट रहनुभएन । ओलीसँग भने उहाँको निकटता सधैँ रहिरह्यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू