हङकङ गएकाहरू फर्किए कि उतै हराए ?
सरकारबाट एउटा देशको निम्ति भ्रमण आदेश स्वीकृत गराएर एक जना माननीय अन्तैतिर लागेको विषयलाई अहिले शंकास्पद रुपमा हेर्न थालिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिएकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको भ्रमणलाई हो यसरी शंकास्पद् रुपमा हेरिएको। अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति पाएकी ५२ भाइमध्येकी हुन् उनी । आयोगमा जानुअघि एक बृद्धाश्रम निर्माणका नाममा सात करोड अनियमितता गरेको आरोप समेत खेपिन्। संकल्प नेपाल नामक एनजीओको हर्ताकर्ता उनै पराजुलीलाई सरकारले गत फागुन २८ देखि चैत्र ९ सम्म न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको कमिसन अफ द स्टाटस अफ वुमन (सिएसडब्लु) को ६८ औं सत्रमा सहभागिताका लागि मनोनयन गरेको थियो।
तत्कालीन महिला, बालबालिका मन्त्री सुरेन्द्रआचार्यको १९ सदस्यीय टोलीमा कमला पराजुलीसहित कृष्णकुमारी पौडेल, विद्याकुमारी सिन्हा, अनिता शाहका अलावा महिला सचिव सुमनराज अर्याल, सहसचिव आभा कर्ण, संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापा, उपसचिवहरू ममता बास्तोला, चिरञ्जिवी भण्डारी, सीता निरौला लगायत थिए ।तर माननीय कमलाकुमारी पराजुली उक्त अवधिमा संयुक्त राष्ट्रसंघ नपुगी हङ्गकङ्ग पुगेको बिषय अहिलेछरपष्ट हुँदैछ । उनी सोही समय गैरअवासीय नेपाली महिला संघ (एनआरएनए) हङ्गकङ्गको महिला विभाग र नेपाली महिला संघको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यता पुगेकी थिइन्। उनीसँग हङ्गकङ्ग जाने को को थिए ? ती फर्किए वा उतै अड्किए ? बल्ल खोजी हुन थालेकोछ ।
आयोगका पदाधिकारी अर्थात माननीयका लागि गाडीसहित चालक सुविधा उपलव्ध गराएको छ, राज्यले। सो अवधिमा चालकलाई समेत थाहै नदिई प्रमुख आयुक्त पठाओ चढेर हङ्गकङ्गतिर हान्निनुले उनको उक्त भ्रमणलाई शंकास्पद मानिएको छ । उसो त अध्यक्ष पराजुलीको संकल्प नेपाल नामक गैरसरकारी संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा विनियोजित ७ करोडको लागतमा निर्माण गर्ने भनिएको जेष्ठ नागरिक भवनमा समेत भ्रष्टाचार गरेको बिषयमा सरकारी निकायहरूले नै चासो राखेका छन्।
अदालतमा समेत मुद्दा परेपछि अख्तियारलाई निर्देशनात्मक आदेश गएको छ । महालेखाले त आफ्नो प्रतिवेदनमा बेरुजु नै किटान गरेको छ । उनै अध्यक्ष पराजुलीले २२ बर्षदेखि भाडामा रहेको आयोगको कार्यालय सार्न इन्कार गर्दै आएकी छिन्। सरकारले भवन व्यवस्थापन गरिसक्दा पनि रामशाहपथ छोड्न नमान्दा आयोगका पदाधिकारी र कर्मचारीहरू आश्चर्य चकित छन्। महिला आयोगको भवनले रासस र खाद्य संस्थानको जग्गा ओगटेको छ । आयोग त्यहाँबाट नहटेपछि केही अघि खाद्य संस्थानले कार्यकक्षमै ताला ठोकिदिएको थियो भने राससले सामान उठाएर फालिदिएको थियो। यी सबै देखेर पीडित भएका केही आयुक्तले सरकारसँग माग राखेपछि नारायणहिटीमा सार्न खोजिएको थियो।
राहदानी विभागको पहिलो तल्ला दिने र नपुग भएको खण्डमा विभागको दोश्रो तल्लासमेत प्रयोग पाउने गरी क्याबिनेटबाटै निर्णय भएको भए पनि अध्यक्ष पराजुलीले सो ठाउँ महिला मैत्री नभएको भन्दै सर्न नमानेको आयोगका पदाधिकारीहरू बताउँछन्। अहिले त्यहाँको सचिव छिन्, पार्वती अर्याल । उनी न्यायाधीश बन्ने लाइनमा रहेका सर्वोच्चका सहसचिव ठगेन्द्र कट्टेलकी धर्मपत्नी हुन् ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू