आउनोस्, यिनका श्रीसम्पत्ति जफत गरौं

आउनोस्, यिनका श्रीसम्पत्ति जफत गरौं
सुन्नुहोस्

विकृत राजनीतिविरुद्ध फरक मत राख्नेहरु मुकुल बन्छन्, जहाँ स्वतन्त्र नामको पार्टी भए पनि मुकुलहरु स्वतन्त्र छैनन् । ‘हातमा राजनीतिक घण्टा बोकेर फोहोर बक्दै हिँड्नेले हाम्रो धर्म निरपेक्षता र हिन्दू धर्मलाई पनि बदनाम मात्रै गरेको छैन खिल्ली समेत उडाइदिएको छ ।’
 सबै खाले ठगहरूको एउटै मात्र पर्यायवाची शब्द भ्रष्टाचार नैं हो । भ्रष्टाचारले नै सुशासनलाई बाधा पुर्याउँछ । भ्रष्टाचार गर्नेहरूका भाषण अत्यन्तै मीठा हुन्छन् । अनि तिनै भ्रष्ट भाषणका मिठासमा कमिलासरह भीड देखा पर्छ । 

‘यो धेरै खराब र थोरै असल मान्छेहरूको युग हो । यो युगमा सत्यको विरुद्ध असत्यको भीड जुट्ने गर्छ ।’ भीडनाइकेले जति नै झूठ बोलोस्, समर्थकबाट फरक मत भेटिँदैन । फरक मत राख्नेहरु मुकुल बन्छन् । 

‘आज यो देशमा सबैभन्दा ठूलो समस्या ठगहरूको जग्जगी भएको छ । जनता म्यानपावरमा ठगिन्छ, अस्पतालमा ठगिन्छ, जनताका छोराछोरीहरु विद्यालयमा ठगिन्छन्, जनतामाथि ठगी गर्दछन् । तिनै ठगविरुद्ध निस्किने आवाजहरु नै भ्रष्टाचारविरोधी आवाजहरू हुन् ।’

आजको समाजमा कोही सर्वसाधारण पीडित भयो भने उसको पक्षमा बोल्दिनेहरु फाट्टफुट्ट मात्रै देखापर्छन् । एउटा कोही भाइरल भयो भने उसलाई आँखा चिम्लेर समर्थन र दान दक्षिणा दिनेहरूको बजार छ यहाँ । त्यो बजारमा दान रिसिभ गर्नेले भिखारी सेल्फी खिच्नुपर्छ । भिखारी भिडियोमा कैद हुनुपर्छ, कारण यो भिडियो बनाउनेलाई सामाजिक अभियन्ता बनाइदिन्छ समाजले । त्यो दान थाप्ने गरिबलाई सञ्जालभर पोतेपछि नक्कली समाजसेवाको खाता खुल्छ र देशको इतिहास बदल्ने मान्छेभन्दा करोडौं गुणा महान बन्छ । 

यो सबै निजी स्वार्थको निमित्त भइरहेको छ । कसैको राजनीतिक सत्ता र रसस्वादनको निम्ति मुख्य हतियार बनिरहेका छन् गरिब र दिनदुःखीहरु जसलाई त्यो गिरोहले प्रेमले दान गरेको होइन, हो त केवल टिआरपी र फलोअर्स बढाउन । फलोअर्स त सन्नी लियोनीको पनि गनिसक्नु छैन । फ्यान नै कमाउन गरिब नंग्याउनु पर्दैन । नक्कली समाजसेवीहरु नाङ्गै हुँदा बरु झनझन् फ्यान फलोअर्स बढ्नेछन् । यो देशको इतिहास बदल्नेभन्दा सञ्जाल फोहोर बनाउने दुषित किटाणुहरुको फेसबुक ज्यादा भाइरल छ ।

देशमा आजसम्म कुनै पनि वैदेशिक हस्तक्षेप हुन सकेको छैन र त हामी सार्वभौम देशका नागरिक भनेर चिनिन्छौं । नेपाली जनता कहिले पनि विदेशीको गुलाम भएनन् बरु हाल केही मानिस डिजिटल नक्कली क्रान्तिको गुलाम भएका छन् । अनि फरक मतको अलावा जय जयकारले आज अभियुक्त बन्न विवश छ भीडको नाइके ।

भीडमा जय जयकार गाउनेहरूले फरक मत राख्नेहरूको व्यापक चरित्र हत्या गरिरहेका छन् । अनि हामी जस्ता तटस्थ देश र जनताको प्रेमीहरु कलम बोकेर हिँडिरहेका छौं, खबरदार यस्ता तत्वहरूदेखि होसियार भन्दै कलम चलाइरहेका छौं । हामीलाई हाम्रो देशको माया छ, हाम्रो राष्ट्रप्रति गौरव छ । अनि विदेशी टुरिस्टहरुले नेपालीलाई सुशासन पढाएको हामीलाई रुच्दैन कारण हामीहरू फटाहाको गन्ध टाढैबाट थाहा पाउँछौं । अब ठग र भ्रष्टाचारी प्रमाणित भएपछि उसको श्रीसम्पत्ति जफत गर्ने, आजीवन जेलमा हाल्ने र अरबौं धरौटी तोक्ने खालको कानुन बनाउनु जरुरी छ । 

अन्तमा, रविजीको पार्टी पनि राजावादी पार्टी हो । त्यहाँ ९० प्रतिशत राजावादीले उनलाई आँखा चिम्लेर समर्थन गर्छन् । रविजी लोकतन्त्रवादी होइनन् । बाँकी केही सालमा थाहा हुनेछ । यी फरक अनुहारका राजावादी पसल हुन् । अधिकांश जनयुद्ध विरोधीहरुले पोखराको भीडलाई समर्थन गर्दै रविजीको जुत्तामा नाकले टेकेर निधारले सलाम ठोकेको देखिन्छ ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू