प्रसाईंको 'किर्ते प्रमाण' र राजनको कम्बोडिया प्रस्थानले निम्तिएको संशय

प्रसाईंको 'किर्ते प्रमाण' र राजनको कम्बोडिया प्रस्थानले निम्तिएको संशय
सुन्नुहोस्

आफूलाई व्यवस्थाविरोधी अभियन्ता बताउने विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले केही दिनअघि कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौंको लगानी रहेको दाबी गर्दै केही कागजात सार्वजनिक गरे । त्यहाँको स्मार्ट एजियाटा कम्पनीमा ओलीले ३२ अर्ब लगानी गरेको बताउँदै उनले भिडियोमार्फत 'डिजिटल डकुमेन्ट' बाहिर ल्याएका थिए । 
 

प्रधानमन्त्रीविरुद्ध भ्रम फिँजाएको आरोपमा पक्राउ परेका प्रसाईले भाइरल बनाएका डकुमेन्टमा कुनै सत्यता नरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाइसकेको छ । एसपी होविन्द्र बोगटी भन्छन्, ‘ती सबै डकुमेन्ट फेक हुन्, यो कार्यमा संलग्न अरुलाई पनि खोज्दैछौँ ।’

प्रहरीका अनुसार प्रसाईँमाथि विद्युतीय कारोबार, किर्ते कागजात र मानहानीको मुद्धामा अनुसन्धान भैरहेको छ । त्यसपछि अदालतबाटै यसको अन्तिम निर्क्याैल हुनेछ । यद्यपि, कतिपयले भने प्रसाईँले लगाएको आरोपमाथि पनि अनुसन्धान हुनुपर्ने तर्क गरिरहेका छन् । 

प्रसाईँकै कारण नेपालमा कम्बोडियाको चर्चा भइरहेको बेला एमालेका नेताहरु त्यतै उडेका छन् । विदेश विभाग प्रमुख रघुवीर महासेठ, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईसहितका नेताहरु हिजो साँझ कम्बोडिया प्रस्थान गरेका हुन् । 

‘बाघ कराउनू र बाख्रा हराउनू’ भनेझैँ झै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि कम्बोडियामा अर्बौं सम्पत्ति थुपारेको आरोप लागिरहँदा ओलीका विश्वासपात्र मानिएका महासेठ र भट्टराई त्यतै जानूलाई कतिपयले शंकाको नजरले हेरेको पाइन्छ । 

एमालेले भोली काठमाडौँमा 'जागरण सभा' गर्दैछ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटी संयुक्त आयोजक रहेको जागरण सभालाई प्रभावकारी बनाउन गठित संयोजन समितिको संयोजक हुन्, भट्टराई । दुई दिनअघि च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा उनले जागरण सभाको उद्धेश्यबारे प्रकाश पार्दै एक लाख कार्यकर्ता सडकमा ओराल्ने घोषणा गरेका थिए । 

सरकारमा बसेर सडक संघर्षको उल्टो बाटो समातेको एमालेले निकै महत्व दिएको जागरण सभाको संघारमा सम्पूर्ण जिम्मेवारी कैलाश ढुंगेललाई दिएर कम्बोडिया उड्नुपर्ने बाध्यता भट्टराईलाई किन आइलाग्यो ? प्रश्न उठिरहँदा उनले पार्टी स्थायी कमिटी सदस्यको हैसियतमा आइक्यापको १२औँ अधिवेशनमा सहभागी हुन कम्बोडिया गएको जानकारी दिएका छन् । तर, नागरिकमा पैदा भएको संशय भने मेटिएको छैन । 

सामाजिक सञ्जालमा प्रभात भट्टले सोधेका छन्, ‘३२ अर्ब रिटोटलिङ गर्न जानु भको हो र ?’ अरुण चाम्लिङले पनि भट्टराईको अनपेक्षित भ्रमणप्रति शंका गरेका छन् । भन्छन्, ‘त्यो अर्बौको चिर्कटो मिलाउन जानुभएको होला, शुभयात्रा ।’

इश्वर भण्डारीले भने सम्भावित दुई परिदृश्यबारे विश्लेषण गरेका छन् । ‘जागरण सभाको पूर्वसन्ध्यामा संयोजक नै कार्यक्रम छोडेर कम्बोडिया कुद्नुले प्रसाईँको पल्ला भारी भएन र ?’, उनकाे प्रतिक्रिया छ, ‘जानैपर्ने कार्यक्रम हो भने अरु स्थायी कमिटी सदस्यलाई पठाउन सकिन्थ्यो । कि तपाईं भ्रमण र अवसरको लोभी हो, कि अब प्रसाईँले लगाएको आरोपमाथि पनि छानविन गर्नुपर्छ ।’

टिप्पणीहरू