यता बौरिएको माओवादीलाई उता धक्का
स्थानीय तह उपनिर्वाचनमा यसअघि जितेको सिटसंख्या सुरक्षित गरेको नेकपा माओवादी केन्द्रलाई सुदूरपश्चिम प्रदेशमा भने अनपेक्षित परिणाम हात लागेको छ ।
हिजो उपनिर्वाचन भएका बाजुरा, बझाङ, डोटी, दार्चुला, कञ्चनपुरका कुनै पनि क्षेत्रमा माओवादीले जीत निकाल्न सकेन । बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारी निर्वाचित भएकी छन् ।
उनले एक हजार ७४० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मत ल्याइन् । यहाँ केन्द्रीय निर्देशनविपरित माओवादीको स्थानीय कमिटीले उम्मेदवारी फिर्ता लिँदै एमालेलाई समर्थन गरेको थियो ।
बझाङको सुर्मा गाउँपालिका–४ मा काँग्रेसका धिरेन्द्र पुजारा ६५७ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेका लखीचन्द्र बोहराले ४८७ मत पाउँदा माओवादी केन्द्रका पुष्करबहादुर बोहराले जम्मा १७ मत ल्याए ।
त्यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा पनि माओवादीले कमजोर प्रदर्शन गरेको छ । विजयी काँग्रेस उम्मेदवार मोहन थापाले ४६८ मत ल्याउँदा माओवादीका देवीलाल थापाले जम्मा २६ भोट पाएका छन् । एमालेका देवबहादुर थापाले ३०१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
दार्चुलाको दुहुँ–५ मा माओवादीले यसअघिको जीत सुरक्षित गर्न सकेन । २०७९ को चुनावमा कांग्रेससँग गठबन्धन गरेर यहाँ वडाध्यक्ष जितेको उसले यसपटक लज्जास्पद हार बेहोर्नुपर्यो । काँग्रेसका धनसिंह कुँवरले ३५८ मतसहित जीत दर्ता गर्दा माओवादीका वीरसिंह कार्कीले जम्मा ९८ मत पाए । एमालेका मानसिंह बडालले ३५८ भोट ल्याएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पनि काँग्रेसकै प्रकाश चन्द ११ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरे भने माओवादीका नानाराम कोलीले १२२ भोट ल्याए ।
यसबाहेक माओवादीले आधार क्षेत्र रोल्पा, रुकुम र जाजरकोटका केही वडासमेत गुमाएको छ । तर, समग्रमा उपनिर्वाचनमा फाइदा उठाएको माओवादीले कोशी प्रदेशमा महत्वपूर्ण सफलता हात पारेको छ । काँग्रेसको गढ मानिएको ग्रमथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी भएका हुन् ।
छ हजार ९६९ मतसहित उनले जीत हात पार्दा काँग्रेसका बलराम सरदार थारु पाँच हजार ३३३ मतमा सीमित भएका छन् । गत निर्वाचनमा काँग्रेसले जितेको यहाँ माओवादी तेस्रो भएको थियो । त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पनि माओवादीले जितेको छ ।
टिप्पणीहरू