यो हप्ता बडो मुश्किल छ रास्वपालाई
राष्ट्रिय राजनीतिमा एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसैगरी अस्ताउने दिशातर्फ उन्मुख छ । अघिल्लो उपचुनावमा इलामबाट जमानत जोगाउन नसकेको रास्वपाले यस पटकको उपनिर्वाचनमा संघीय राजधानी काठमाडौँमै उम्मेदवार उठाउनसमेत नसक्ने अवस्थामा पुगेपछि यस्तो टिप्पणी हुन थालेको हो ।
रवि लामिछानेको ‘लोकप्रियता’बाट राष्ट्रिय राजनीतिमा एकाएक छलाङ हानेको रास्वपाले २०७९ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ ७ सहित ११ लाख समानुपातिक भोट ल्याएको थियो । संसद्को चौथो ठूलो दल रहेको उसले प्रतिनिधिसभातर्फ काठमाडौँका १० मध्ये ९ सिटमा उम्मेदवारी दिएकोमा चार क्षेत्र जित्यो ।
त्यसबेला काठमाडौँबाट मनग्य समानुपातिक भोट पाएको उसले कीर्तिपुर नगरपालिकाको मेयरमा मात्र होइन, दुई वडाध्यक्षमा पनि उम्मेदवार उठाउन सकेन ।
पुराना पार्टीहरूले देश चलाउन नसक्ने दावीसहित आगामी निर्वाचनमा एकलौटी बहुमत ल्याउने र रवि लामिछाने प्रधानमन्त्रीको कुर्सीमा पुग्ने धक्कु लगाइरहेको रास्वपाले भोलि उपचुनाव हुने ४४ मध्ये २६ ठाउँमा मात्र मान्छे उठाएको छ ।
आम निर्वाचन सकिएको दुई वर्ष पूरा भैसकेकाले उपचुनावलाई ‘जनमत परीक्षण’को रूपमा समेत हेरिएको अवस्थामा ‘मिशन–८४’ भन्दै आइरहेको दलले सबैतिर उम्मेदवारी दिन नसक्नुले ओरालो यात्राको संकेत गर्छ । अझ ०४६ सालको आन्दोलनको जुझारु किल्ला कीर्तिपुरजस्तो राजनीतिक महत्वको क्षेत्रमा उम्मेदवार उठ्ने मान्छे नै नपाएको अवस्थाले सो पार्टीको दयनीय स्थिति दर्शाउँछ ।
रास्वपाले लोकसेवा आयोगले कर्मचारी भर्नाको विज्ञापन खुलाएजस्तै उम्मेदवारका लागि अनलाइन दरखास्त खुलाएको थियो । तर, कीर्तिपुरको मेयरमा जम्मा एकजनाको मात्र दरखास्त परेकोमा उम्मेदवारी मनोनयन दर्ताको दिनसम्म आइपुग्दा उनीसमेत घण्टी चिन्हबाट उठ्न तयार भएनन् । लोकप्रिय व्यक्ति नपाएका कारण उम्मेदवारी नदिएको भन्दै अहिले नेताहरू लाज ढाक्ने प्रयास गरिरहेका छन् ।
यसअघि इलामको उपचुनावमा रास्वपाले माओवादी केन्द्रको भ्रातृ संगठन प्रेस सेन्टरका कार्यकर्ता मिलन लिम्बूलाई प्रवेश गराएर हाताहाती टिकट थमाएको थियो । चुनावअघि काठमाडौँबाट नेताहरूको यौटा टोली नै खटाएर मत सर्वेक्षण गरेको उसले तामझामसहित प्रचार–प्रसार पनि गर्यो । त्यसबेला गृहमन्त्री रहेका रवि लामिछानेसहित केन्द्रीय तहका नेताहरूलाई लाइन लगाएर ठाउँ–ठाउँमा आमसभा गरिएको थियो ।
तर, मिलनको जमानत जोगिएन । विजेता एमाले उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा चौथो भएका उनले जम्मा ५ हजार ५० मत पाए ।
जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी रिक्त ४४ पदका लागि हुने उपचुनावअन्तर्गत कैलाली र ओखलढुंगाको जिसस प्रमुख तथा रुकुम–पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भैसकेका छन् । बाँकी ४१ स्थानमा भोलि मतदान हुँदै छ ।
जम्मा २६ स्थानमा उम्मेदवारी दिएको रास्वपा कतै पनि प्रतिष्पर्धामा नरहेको विभिन्न सरकारी संयन्त्रको विश्लेषण छ । अघिल्ला चुनावमा साथ दिएको शहरी मतदाता सहकारी काण्डले रास्वपासँग रिसाएको, तल्लो तहमा रास्वपाको संगठन नबनेको, मुकुल ढकालले पार्टी छोडेपछि तलैसम्म अन्तरविरोध चर्किएकोलगायत कारण रास्वपामाथि मतदाताको भरोशा गुमेको आम रूपमा पनि देखिन्छ ।
०७९ को आमचुनाव र त्यसपछिका उपचुनावमा रास्वपाले मुख्यतः शहरी क्षेत्रमा प्रभाव देखाएको थियो । छिटोछिटो परिवर्तन खोज्ने शहरी मतदाताको विशेषता हो । प्रष्ट छ– ०४६ सालमा गणेशमानका लागि जुरुक्क उठेको काठमाडौँ ०४८ सालमा कहाँ पुग्यो ! ०६४ सालमा माओवादीमय भएको काठमाडौँ ०७० मा आइपुग्दा नील हुन पुग्यो । अहिले चन्द्रागिरी नगरपालिकामा वडाध्यक्ष जित्नुबाहेक काठमाडौँको अन्य स्थानीय तहमा माओवादीको उपस्थिति कमजोर छ ।
तर, गाउँमा भने ठ्याक्कै उल्टो अवस्था छ । हजुरबुबाको पालामा कांग्रेस, एमाले, माओवादीको सदस्यता लिएको परिवार नाति पुस्तासम्म पनि हत्तपत्त दायाँ–बायाँ हुँदैन । खेतीपाती गरेर बसेको सामान्य मान्छेले राष्ट्रिय राजनीतिका घटनाक्रमसँग खासै सरोकार पनि राख्दैन । अहिले पनि यस्ता मतदाताको संख्या धेरै छ ।
त्यसकारण यो उपचुनावमा मूलतः कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने र माओवादी उनीहरूको पछि–पछि आउने अनुमान गरिएको छ । रास्वपा मात्र होइन राप्रपा र नेकपा एसले पनि उपचुनावमा प्रभाव छाड्न नसक्ने विश्लेषण भैरहेको छ ।
टिप्पणीहरू