प्रधानमन्त्री उड्नासाथ भारतीय मिडियाद्वारा चीनपरस्तको बात

प्रधानमन्त्री उड्नासाथ भारतीय मिडियाद्वारा चीनपरस्तको बात

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणको क्रममा बेइजिङ पुग्नुभएको छ । उहाँ ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान काठमाडौंबाट हिमालय एअरलाइन्सको विशेष उडानमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्रीको चीन यात्रालाई भारतीय सञ्चार माध्यमहरुले नकारात्मक रूपमा प्रस्तुत गरेका छन् । केही सञ्चार माध्यमले नेपालको एजेण्डाप्रति चीन मौन बसेको र केहीले एमाले अध्यक्ष केपी शर्मा ओली भारतलाई छाडेर चीन परस्त भएको आरोप लगाएका छन् ।

द प्रिन्टको अनलाइन संस्करणले नेपालले आग्रह गरे पनि चीन बिआरआईको पूर्ववत प्रस्तावलाई संशोधन गर्ने पक्षमा नरहेको अनुमान लगाएको छ । उक्त समाचारमा धेरैले चीनको राजधानीमा बिआरआई सम्झौता हुने वा नहुने भन्नेबारे चासो राखेको उल्लेख छ । 

नेपाल सरकारले बनाएको चार सदस्यीय आयोगको सुझावपछि बिआरआईमाथि सशोधन प्रस्ताव तयार पारेर शनिबार काठमाडौंस्थित चिनियाँ दूतावासमा पठाइएको भारतीय समाचारमा दाबी गरिएको छ । तर, प्रधानमन्त्रीको भ्रमणमा गरिने छलफलको अजेण्डाबारे परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार नै चीनको छन्तुमा औपचारिक भेटवार्ता भइसकेको थियो ।

यता द न्यु इण्डियन एक्सप्रेसले प्रधानमन्त्री ओली नयाँ दिल्लीको पहिले भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीको परम्परालाई तोडेर बेइजिङ पुग्नुभएको उल्लेख गरेको छ । एक्सप्रेसले नेपाली सञ्चार माध्यमको हवाला दिँदै लेखेको समाचारमा नयाँ दिल्लीले औपचारिक भ्रमणको निम्तो नदिएपछि ओली बेइजिङ जानुभएको दाबी छ ।

उसले चीन र भारतसँग सिमाना जोडिएको नेपालको कुल वैदेशिक व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग हुने गरेको र चीनसँग १५ प्रतिशत मात्रै हुने गरेको विषयलाई ध्यान दिनुपर्ने उल्लेख गरेको छ । तर, विद्युतीय गाडी आयातमा चीनले ७० प्रतिशत ओगटेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

द न्यु इण्डियन एक्सप्रेसले भ्रमणको सन्दर्भमा नेपालमा हुने गरेको वैदेशिक प्रत्यक्ष लगानीको विषयमा पनि प्रकाश पारेको छ । भनिएको छ, ‘राष्ट्र बैंकका अनुसार नेपालमा भारतले गत वर्ष ७५ करोड अमेरिकी डलर लगानी गरेको थियो भने चीनले २५ करोड मात्रै ।’

टिप्पणीहरू