चीन जानुअघि एमाले नेताहरुलाई यस्तो ब्रिफिङ

चीन जानुअघि एमाले नेताहरुलाई यस्तो ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बिआरआई सम्झौताबारे बालुवाटारमा हिजो साँझ क्याबिनेट बैठक बस्नुअघि नेकपा एमालेका पदाधिकारीहरुलाई बृफ गरिएको छ ।

भ्रमण तालिका सुनाउनेदेखि बिआरआईमा सहमति जुटाउन भएका प्रयासबारे प्रधानमन्त्रीका तर्फबाट उपमहासचिव विष्णु रिमालले ब्याख्या  गरेका थिए ।   

सहभागी एक सचिवका अनुसार रिमालले बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने निश्चित भएसँगै भ्रमण उपलब्धिपूर्ण हुनेमा विश्वस्त रहन भने । बिआरआइमा कांग्रेसलाई मनाउन चिनियाँ पक्षले पठाएको सहमतिको ड्राफ्ट संशोधन गरेर सर्वसम्मत बनाइएको पनि उनले चर्चा गरे । 

प्रधानमन्त्री ओलीले भने अन्तिममा छोटो भनाई राख्नुभएको थियो । त्यसक्रममा उहाँ पनि भ्रमण सफल हुनेमा आत्मविश्वासी देखिएको उनै पदाधिकारीले बताए । राष्ट्रिय सहमति जुटाएर बिआरआई कार्यान्वयन सम्झौता गर्न लागेकाले सबै पक्षको सकारात्मक सहयोग पाएको धारणा उहाँले राख्नुभएको थियो ।

'पूर्व प्रधानमन्त्रीहरुको बैठक पनि राम्रो भयो । माधव,झलनाथजीहरु सकारात्मक छन् । घोचपेचको भावमा प्रस्तुत भएका प्रचण्डको कुरा पनि ठीकै थियो । यसपटक चीन भ्रमण सफल हुन्छ', मन्त्रीहरु धमाधम आउन थालेपछि क्याबिनेट बैठकमा जान हत्तारिनुभएका उहाँको संक्षिप्त ब्रिफिङ थियो ।   

प्रधानमन्त्री चार दिने औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहानै बेइजिङ्ग प्रस्थान गर्नुभएको छ । भ्रमण तालिकाअनुसार प्रधानमन्त्रीले आज आन्तरिक तयारी गर्ने र भोलि एकै दिन तीन वटा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ ।  

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफ़िङसँग 'वान टु वान' वार्ता गर्नुहुनेछ । समकक्षी लि छ्याङसँग भने प्रतिनिधिमण्डलस्तरीय वार्तापछि हस्ताक्षर समारोह हुनेछ । भोलि नै सँसदका प्रमुखसँग भेटवार्ताको कार्यक्रम छ । उक्त भेटमा सांसदहरु पनि सहभागी हुनेछन् । 

पर्सि बुधबार प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुनेछ । त्यस्तै, बेइजिङस्थित नेपाली दूतावास,चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू