प्रधानमन्त्री चीन सवार, हिमालय एअरलाइन्सद्वारा सबैमा आभार
प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि थाल्नुभएको चीनको औपचारिक भ्रमणमा हिमालय एअरलाइन्सको विशेष विमान प्रयोग गरिएको छ । चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले उक्त भ्रमणका निम्ति आफ्नो विमान प्रयोग गर्ने अवसर पाएकोमा नेपाल सरकारलाई विशेष धन्यवादसहित आभार प्रकट गरेको छ ।
आजको कूटनीतिक उडानमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल,आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा,मुख्यसचिव एक नारायण अर्याल,सांसद,सचिव,सरकारी अधिकारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत ४४ जना सदस्य छन् ।
टोलीलाई बिहान ११ बजे हिमालय एअरलाइन्सको विमानभित्र अध्यक्ष चौ एनयोंगले स्वागत गरी सँगै बेइजिङ लगेको र कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले सरकार प्रमुखको टोलीलाई बिदाई गरेको बुझिएको छ ।
यसअघि यही कम्पनीले दुई पूर्व रास्ट्रपतिलाई बेइजिङ्ग लगेको थियो ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिमालय एअरलाइन्सको ए ३१९ विमानबाटै आगामी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । आजको उडानपछि विजय श्रेष्ठले भने, ‘हामीलाई सरकार प्रमुखको आधिकारिक यात्राका लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु नै ठूलो सम्मानको कुरा हो । सरकार प्रमुख र मुलुकका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरु सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसर प्रदान गर्नुभएकोमा नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’
उनले आज विगतमा नेपाल सरकारको अनुरोधमा हिमालय एअरलाइन्सले गरेको काठमाडौं–काबुल–काठमाडौं मानवीय उडानको समेत स्मरण गरेका छन् । आजको उडानमा वरिष्ठ क्याप्टेन हाओ दि,क्याप्टेन रिवाजप्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ थिए । बिहान यहाँबाट सवा ११ बजे उडेको उक्त विमान पाँच घण्टाको उडानमा बेइजिङ पुगेको थियो ।
हिमालय एअरलाइन्स नेपालको पहिलो र एक मात्र आइओएसए प्रमाणित वायुसेवा कम्पनी हो । यसले उडान सुरक्षा र ग्राहक सेवाप्रति प्रतिबद्ध रहेर यात्रुहरुको यात्रा सहज र सुरक्षित बनाएको कम्पनीको दाबी छ । यसबाट हिमालय एअरलाइन्स हवाई उडानमा एक भरपर्दो र विश्वसनीय साझेदारको रुपमा स्थापित भएको छ ।
टिप्पणीहरू