सरकार प्रमुख बेइजिङ, सेनापति दिल्ली
उताका फर्किन नपाउँदै यताका जाँदै ! प्रसंग हो, प्रधानसेनापति अशोकराज सिग्देलको भारत भ्रमणको । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमण सकाएर स्वदेश फर्किन नपाउँदै प्रधानसेनापति सिग्देल भारत जाने कार्यक्रम तय भएको छ । मंसिर ५ गते नेपाल आएका द्विवेदीले सिग्देललाई भारत भ्रमणको निम्तो दिएका थिए ।
मानार्थ महारथिको पदवी बुझ्न आएका समकक्षीको निम्तो स्वीकार्दै जंगीअड्डाले आवश्यक तयारी थालिसकेको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको छेको पारेर सिग्देल भारत जाने कार्यक्रम बनाइएको हो । भारतको तर्फबाट नेपालको परराष्ट्र मन्त्रालयलाई यसनिम्ति पत्राचार गरिसकिएको छ ।
स्रोत भन्छ, ‘भारतीय सेनाध्यक्षलाई राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथिको पदवी प्रदान गर्नुभएको थियो । एकअर्काको देशमा यस्तो पदवी दिने परम्परा छ । त्यसैले सिग्देल भारत जान लाग्नुभएको छ । अन्य त्यस्तो खासै कार्यक्रम त छैन ।’
द्विवेदी भारत र सिग्देल नेपालको प्रधानसेनापतिमा केही महिनाअगाडि मात्रै नियुक्त भएका हुन् । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीका अनुसार सिग्देलको भ्रमणको लागि भारतबाट परराष्ट्रमा निमन्त्रण आइसकेको छ ।
'कहिले जाने भन्ने तय भइसकेको छैन । प्रक्रियाचाहिँ शुरु भएको छ’, उनले भने ।
गत २४ भदौदेखि कार्यभार सम्हालेका सिग्देलले तीन महिनामा खासै सम्झनलायक काम गर्न भ्याएका छैनन् । उनी सैनिक अधिकृतलाई बोलाएर भोज खुवाउन र ब्यारेक निरीक्षणमै व्यस्त देखिन्छन् ।
आगामी योजना, कार्यसम्पादनलगायतका विषयमा छलफल गर्न अवसर जुरेको छैन । हालसम्म दुईतारे जर्नेलको भेलासमेत राखिएको छैन ।
आफ्नो एकमात्र छोराको विवाह उनले सैनिक ठेकेदार यादव कुँवरकी छोरीसँग गर्न लागेका छन् । गोकर्ण रिसोर्टमा भव्य कार्यक्रमसहित इन्गेजमेण्ट गरेका उनीहरू फागुनमा वैवाहिक बन्धनमा बाँधिदै छन् ।
टिप्पणीहरू