आफ्नो आश्वासन पूरा नभएकोमा खिन्न काँग्रेस नेताद्वारा राजमार्ग पुनर्निर्माणमा आपत्ति

आफ्नो आश्वासन पूरा नभएकोमा खिन्न काँग्रेस नेताद्वारा राजमार्ग पुनर्निर्माणमा आपत्ति

पुनर्निर्माणमा भइरहेको ढिलासुस्तीका कारण नारायणगढ–बुटवल सडक खण्ड बिजोग अवस्थामा पुगेको छ । बनाउन भत्काइएको तर निर्माण कार्यले गति लिन नसक्दा उबडखाबड बाटो, वर्षामा हिलो र अरुबेला धुलाम्मे हुँदा हिँडिनसक्नु भएको छ । 

सडकको दुरावस्थाले स्थानीय जनता, सवारी चालक, यात्रु सबै आजित भइसकेका छन् । यस विषयमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद् डा. शशांक कोइरालाले उक्त सडक निर्माणबारे चिनियाँ राजदूतावासमा कुरा गर्ने बताएका छन् । 

चितवनको नारायणगढबाट नारायणी पुल कटेर नवलपुर, गैंडाकोटको सीमामा पुगेपछि सडकको दुर्दशा छर्लड्ड हुन्छ । गैंडाकोटमै नारायणी नदी किनारमा आयोजित गण्डकी प्रदेश महोत्सवको अन्तिम दिन हिजो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद् कोइराला सामु आशा राख्दै उद्घोषकले चिनियाँ दूतावाससँगै कुरा गरेर सडकको समस्या चाँडै हल गरिदिन आग्रह गरेका थिए । 

महोत्सवमा बोल्दै नेपाली काँग्रेसका नेता कोइरालाले यस विषयमा आफ्नो पार्टीका क्षेत्रीय सभापतिले प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेको र आजभोलिमै चिनियाँ दूतावासमा पनि आफूले कुरा गर्ने बताए । 

११३ किलोमिटर लामो सडक खण्डको पुनर्निमाणका लागि सडक विभागले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनसँग २०७५ माघमा सम्झौता गरेको थियो । ४२ महिनाभित्र सम्पन्न गर्ने भनिएको ठेक्कामा पटक–पटक म्याद थप्दा पनि काम पूरा नहुँदा हालत खराब छ । 

नेता कोइरालाले यस क्षेत्रमा रंगशाला बनाउने, ट्रमा सेन्टर बनाउने आफ्नो सपना अझै पूरा हुन नसकेको, तटबन्धको कामले पनि अपेक्षित गति लिन नसकेकोमा खिन्नता प्रकट गरेका छन् । यसअघि मन्त्रीहरुसँग कुरा गर्दा आश्वासनमात्रै पाएको उनले सुनाए । भने, ‘अहिले हाम्रो पार्टी सरकारमा छ । पटक–पटक सरकारलाई भनेको पनि छु ।’ आफूले गरेका प्रतिबद्धताहरु अबको तीन वर्षभित्रै र आगामी वर्षहरुमा पूरा गर्दै जाने नेता कोइरालाले बताएका छन् । 

टिप्पणीहरू