एसईई प्रणालीमा सुधार ल्याउन मागियो रायसुझाव

एसईई प्रणालीमा सुधार ल्याउन मागियो रायसुझाव

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार ल्याउन गठित उच्चस्तरीय कार्यदलले रायसुझाव मागेको छ । कार्यदलको सचिवालयले परीक्षा पद्धतिलाई अझ व्यवस्थित र वैज्ञानिक बनाउन आवश्यक सुधारका सम्बन्धमा रायसुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गत कात्तिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेश तहमा हस्तान्तरण, कक्षा ९ र ११ को रजिस्ट्रेशन शुल्क, बोर्डले विद्यार्थीबाट लिने गरेको विभिन्न शुल्क तथा सेवा सञ्चालनका लागि आवश्यक स्रोत सुनिश्चिततालगायत विषयलाई थप व्यवस्थित बनाउन कार्यदल गठन गरेको हो ।

पूर्वसचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदललाई विद्यमान परीक्षा पद्धतिमा आवश्यक सुुधार एवं नीतिगत, कानूनी र व्यवस्थापकीय कार्यक्षेत्रका विषयमा रायसुझावसहित प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । 

कार्यदलबाट मन्त्रालयमा पेश हुने सुझावलाई अझ व्यवहारिक र कार्यमूलक बनाउन सरोकारवालाबाट प्राप्त हुने सुझाव अत्यन्त महत्वपूर्ण हुने जनाइएको छ । सूचनामा भनिएको छ, ‘यहाँको विज्ञताः राज्यका लागि ठूलो योगदानसमेत हुने हुँदा उल्लेखित विषयमा आफुलाई उपयुक्त लागेका वस्तुनिष्ठ, व्यवहारिक र ठोस रायसुझावहरु १५ दिनभित्र उपलब्ध गराई सहयोग गरिदिनुहुन सम्बन्धित विज्ञ एवं सरोकारवाला सबैमा हार्दिक अनुरोध छ ।’

टिप्पणीहरू