महरालाई डुबाउने रोशनीले भेटिन् म्याद
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर जेल पुर्याउने संसद सचिवालयका कर्मचारी रोशनी शाहीका नाममा १५ दिने म्याद जारी भएको छ । ०७६ असोज १६ गते नै सम्बन्धविच्छेद गरेको भनिएका श्रीमान् चित्रजंग शाहीसँग अमेरिकामा रमाइरहेकी उनीविरुद्ध उच्च अदालत पाटनले पुस १५ गतेकै दिन १५ दिने पुर्जी काटेको हो ।
गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘पुनरावेदक अर्पणा दाहाल र प्रत्यर्थी रोशनी शाही भएको गाली बेइज्जती मुद्दामा यस अदालतबाट मिति २०८१–०९–०९ गते भएको आदेशानुसार पुनः तपाईंका नाउँमा यो म्याद जारी गरिएको छ । सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र यस अदालतमा आफैं उपस्थित हुनु वा कानुन व्यवसायी वा वारिस पठाउनुहोला ।’
महेन्द्रबहादुर शाहीकी छोरी र ईश्वरी दाहालकी पत्नी, हाल वीरेन्द्रनगर सुर्खेत बस्ने ३० वर्षीया अर्पणा रोशनीको जेठाजुकी छोरी हुन् । अर्पणाले पूर्वसभामुख महरासँग जोडेर आफ्नो फेसबुकमा अपाच्य, अश्लील र यौनजन्य स्ट्याटस लेखी गाली बेइज्जती गरेको भन्दै रोशनीले काठमाडौं जिल्ला अदालतमा २०७८ असार २३ गते मुद्दा दायर गरेकी थिइन् । दर्ता नम्बर०७७–सी४–१८९५ भएको मुद्दामा न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले दाबी पुग्ने फैसला गरेको थियो ।
रोशनीको बेइज्जत गरेको ठहर गर्दै अदालतले अर्पणालाई एक महिना कैद र ३० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको छ । त्यसैगरी, पीडितलाई क्षतिपूर्तिबापत ३० हजार रूपैयाँ दिन भनिएको छ । सो आदेशमाथि चित्त नबुझेर अर्पणा उच्चअदालत गएकी हुन् । २०८० असोज १९ गते दर्ता भएको मुद्दाको दर्ता नम्बर ०८०–सीपी–०२७४ रहेको छ । दुईपटक पेशी चढेको सो मुद्दामा न्यायाधीशद्धय विदुर कोइराला र श्यामजी प्रधानको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको हो । यता, रोशनी र श्रीमान् लामो समयदेखि अमेरिकामा छन् । २८ वर्षको दाम्पत्य जीवन टुंग्यो भने सार्वजनिक पत्र निकालेर सम्बन्धविच्छेद गरिसकेका उनीहरू छोराछोरी भेट्न त्यता गएका हुन् ।
टिप्पणीहरू