धराने मेयरको आक्रोश ‘बदमासहरु, अब खतरा उत्तर लेख्छु, पख् !’
धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङ राईले ‘थोत्रे गाग्री’ खानेपानी आन्दोलनको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमा आगामी माघ ६ गतेदेखि उक्त आन्दोलन थालिने जानकारी दिएका हुन् ।
धरानको खानेपानी समस्याबारे संघीय सरकारलाई साढे दुई वर्षदेखि जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको उनको भनाई छ । ‘दुई वर्ष छ महिना कुरियो, अब आन्दोलन थोत्रे गाग्री सुरु हुनेछ’ उनले लेखेका छन्, ‘धरानले जनताले मलाई त्यसै नगर प्रमुख बनाएका होइनन्, म उनीहरुको लागि जे पनि गर्न तयार छु ।’
मेयर राईले माघ ६ गते भानुचोकमा उपस्थित हुन स्थानीयलाई आग्रह गरेका छन् । माघ ८ गते काठमाडौँ आएर मन्त्रालय छिर्ने उनको योजना छ । आन्दोलनबारे विस्तृत जानकारी दिँदै थपेका छन्, ‘आन्दोलन थोत्रे गाग्री माघ ६ गतेदेखि सुरु हुनेछ । सांकेतिक र सभ्य शैलीको दबाब । ६ गते भानु चोकमा उभिने । ७ गते काठमाडौँ गएर पत्रकारहरुलाई सुनाउने । ८ गते मन्त्रालय छिर्ने र मन्त्रीज्यूहरुलाई भेट्ने ।’
त्यस्तै, राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि चुनौती दिएका छन् । धरानको श्रम संस्कृति पार्क, सुम्निमा पारुहाङ र कोकाहा खानेपानीको विषयलाई लिएर राईविरुद्ध आयोगमा उजुरी परेको थियो । सोही प्रसंगमा भनेका छन्, ‘अख्तियारमा उजुरी परेछ । विकास किन गरेको ? श्रमदान किन गरेको ? भन्ने रैछ । बदमासहरु, अब उत्तर खतरा लेख्नेछु, पख् !’
टिप्पणीहरू