एमालेका चार हजार सदस्य गायब
आगामी निर्वाचनमा पहिलो पार्टी हुने उद्देश्यका साथ नेकपा एमालेले मिशन २०८४ अभियान चलाइरहे पनि नेतृत्वप्रतिको असन्तुष्टिले पार्टी कमजोर बन्दै गएको देखिन्छ । लुम्बिनी प्रदेशमा यो वर्ष एमालेका ६ हजार सदस्यले संगठित सदस्यता नवीकरण गराएनन् । नवीकरण अभियानअन्तर्गत घर घरमा गएर अनुरोध गर्दा पनि नमान्ने कार्यकर्ताले कारकका रुपमा नेतृत्वमा र मौलाउँदै गएको विकृति र विसंगतिलाई औंल्याउने गरेका छन् ।
गत वर्षसम्म उक्त प्रदेशमा संगठित सदस्य संख्या ८२ हजार थियो । यो वर्ष ७६ हजारले मात्र नवीकरण गराए । गत एक वर्षमा एमालेले पार्टी विभाजनको राम्रै क्षति व्यहोरेको देखिन्छ । एमालेबाट छुटेर एकीकृत समाजवादी गठन हुँदा ४ हजार संगठित कार्यकर्ताले पार्टी छाडेका थिए । विभाजन हुँदा भन्दा बढीले नवीकरण नगराउनुले आमरुपमा पार्टी कमजोर हुँदै गएको बुझ्न सकिन्छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी कार्यकर्ता रुपन्देहीमा छन् । यहाँ १४ हजार एक सय, दाङमा १० हजार दुई सय, गुल्मीमा ९ हजार ४ सय, अर्घाखाँचीमा ७ हजार दुई सय, कपिलवस्तुमा ६ हजार ६ सय, पाल्पामा ६ हजार ४ सय, बर्दियामा ५ हजार दुई सय कार्यकर्ताको सदस्यता नवीकरण भएको छ । त्यस्तै, प्युठानमा ४ हजार ८ सय, बाँकेमा ४ हजार ६ सय, पश्चिम नवलपरासीमा ३ हजार ५ सय, रोल्पामा २ हजार दुई सय र रुकुममा ९ सयको नवीकरण गरिएको छ ।
प्रदेश भरिमै नवीकरण नगर्नेको संख्या सबैभन्दा बढी दाङ र रुपन्देहीमा देखियो । रुपन्देही पार्टी उपाध्यक्ष बिष्णु पौडेल र दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । यी दुई जिल्लाका दुई÷दुई हजार बढी कार्यकर्ताले अझैसम्म पनि सदस्यता नवीकरण गराएका छैनन् । महासचिवको कार्यशैलीकै कारण सदस्यता नवीकरण नगराउनेको संख्या ठूलो रहेको स्थानीय कमिटीहरूले बताउने गरेका छन् । यो बिषयमा पोखरेल स्वयं जानकार भए पनि आफ्नो कार्यशैली सुधार्नतिर लागेको पाइँदैन ।
प्रदेशको पहिलो मुख्यमन्त्री हुँदा होस् या एमालेको सरकार बन्दा, बजेट र योजना मात्र होइन, राजधानी नै बुटवलबाट दाङ लैजान सफल पोखरेलको जिल्लामा उनकै बैनी—ज्वाइँ शिवकुमार आचार्य अध्यक्ष छन् । महासचिवकै जोडबलमा नयाँलाई टप्प टिपेर अवसर दिने र पाकालाई बेवास्ता गर्ने गरिएका कारण आधारभूत तहमा दाङको अवस्था कमजोर देखिन्छ ।
उपाध्यक्ष पौडेलको गृह जिल्ला झन् दुई नेताको गुटबन्दीको उत्कर्षमा छ । यहाँका साना अवसरसमेत गुट हेरेर दिने गरिएको छ ।
पत्रकारमा अन्तर्घाती खोजिँदै
एमालेले लुम्बिनी प्रदेशमा हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा अन्तर्घात गर्नेहरूको खोजी गर्ने भएको छ । कपिलवस्तुबाहेक अन्यत्र एमाले निकट प्रेस चौतारी र कांग्रेसनिकट प्रेस युनियनबीच भएको गठबन्धनले सफलता पाएको थियो । कपिलवस्तुमा चौतारीकी पार्वती पाण्डे पराजित हुँदा रुपन्देहीमा चौतारीकै दिनेश पाण्डे झिनो मतले विजयी भए ।
चौतारीकै केन्द्रीय सदस्य अमृता अनमोल बागी उठेको र एमाले नेता मात्र होइन चौतारीकै केन्द्रीय नेता पाण्डेविरुद्ध सक्रिय भएपछि उनीहरूमाथि छानबिन गर्न कार्यदल बनाइन लागेको हो । बागी उमेदवारको पक्षमा सक्रिय हुनेहरूको विवरण पार्टीले नै तयार गरिरहेको छ । केन्द्रीय प्रचार विभाग सदस्य दीपक ज्ञवाली, जिल्ला सल्लाहकार हरि ज्ञवालीदेखि बागी उम्मेदवारलाई भोट दिन खबर पठाउने जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारी, नेत्री देवी वाग्लेदेखि चौतारीका केन्द्रीय सदस्यहरूको विवरण तयार भएको एक नेताले बताए ।
टिप्पणीहरू