अटेरी ठेकेदारलाई सात दिने पूर्जी

अटेरी ठेकेदारलाई सात दिने पूर्जी
सुन्नुहोस्

ठेक्का ओगटेर निर्धारित समयमा काम नगर्ने झण्डै डेढ दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने १६ वटा निर्माणकर्तालाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण दिन भनेको हो । चित्तबुझ्दो स्पष्टीकरण नदिए कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । 

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा सोहन–आबा जेभी, आरएसए कन्स्ट्रक्सन, एसएम कन्स्ट्रक्सन, मनकामना सप्लायर्स, बिएण्डबि स्टार कन्सट्रक्सन, साइन हब प्रालि, सनम–निर्जरा जेभी, माडी कन्स्ट्रक्सन प्रालि, न्यून चौधरी टेडर्स छन् । 

त्यस्तै, आदिमी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, प्रबल कुशल निर्माण सेवा, रामेछाप माझी कन्स्ट्रक्सन, कमल कन्स्ट्रक्सन, राज कन्स्ट्रक्सन, एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सुलटेन्सी र राना फर्निचर सःमिल उद्योगलाई पनि स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । 

कार्यालयले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएकाले थप सात दिनको समयावधि दिइएको छ ।’ तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
 

टिप्पणीहरू