ऋषिकेशपत्नी अञ्जला अदालतमा हाजिर
सहकारी घोटालामा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले अदालतमा आत्मसमर्पण गरेकी छन् ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै भागेकी उनी आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन् । बिहान अदालत खुल्नेबितिक्कै उनी हाजिर भएको बताइएको छ ।
मोरङको धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना गरेको अभियोगमा अञ्जलासहित २६ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आज उनको बयान सकेर थुनछेक बहस हुनेछ ।
यसअघि पक्राउ परेका सन्तलाल खवाससहित पाँच लाख रूपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
सहकारी सञ्चालक समितिकी सदस्य रहेकी अञ्जनाकै योजनमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट झण्डै साढे ११ करोड ऋण लिएको प्रहरी अनुसन्धानले देखाइसकेको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरु आमोद मण्डल, जितमान ठाकुरको पनि संग्लनता रहेको सरकारी वकीलको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीमा समस्या देखिन थालेपछि २०७८ मा संचालकको भूमिकाबाट बाहिरिएकी अञ्जलाले भंने रकम हिनामिनामा आफ्नो कुनै संग्लनता नरहेको दावी गर्दै आएकी छन् । सभापति पोखरेलले पनि श्रीमतीलाई जोगाउन सबै दोष अध्यक्ष रौनियारमाथि लगाउँदै आएका छन् ।
टिप्पणीहरू