बढ्दै बालेनको मनोमानी, काठमाडौंको कर ‘बालुवामा पानी’

बढ्दै बालेनको मनोमानी, काठमाडौंको कर ‘बालुवामा पानी’

निर्वाचित भएदेखि नै तानाशाह पारा देखाइरहेका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले कार्यालयमा आफ्नो लागि मात्रै छुट्टै लिफ्ट बनाएको पाइएको छ । महानगरबासीले तिरेको कर पानीझैं बगाइरहेका उनले व्यक्तिगत प्रयोगका निम्ति राजशी ढाँटसहित काठमाडौं प्लाजामा छुट्टै लिफ्ट जडान गराएका हुन् ।

स्रोतका अनुसार सो लिफ्ट उनको बूढीऔंलाको छापबाट मात्र चल्छ । सर्वसाधारण या अन्य कुनै कर्मचारी सो लिफ्ट चढेमा माथि उक्लिँदै उक्लिँदैन । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने सो लिफ्ट मेयरको मात्र नभएको दाबी गरे । उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतले लिफ्ट प्रयोग गर्दै आएको उनको भनाइ छ । लिफ्ट प्रयोगकर्ताका लागि कार्ड जारी गरिएको उनले जानकारी दिए । 

ठूलो खर्च गरेर बनाइएको बालेनको भव्य कार्यकक्ष पनि भत्काएर ध्वस्त बनाइएको छ । नयाँ कार्यकक्षमा सरेका उनले पुरानो कोठा तोडफोड गर्न लगाएका हुन् । यता, सिसिटिभीमा करोडौं रकम खर्च गरिएको छ । काठमाडौं प्लाजामा सबैतिर क्यामेरा जडान गरिएको छ । पार्किङदेखि लिएर हरेक कर्मचारीको कार्यकक्षमा सिसिटिभी छ । अडियोसहितको सिसिटिभीले कर्मचारीको गोपनीयतासम्बन्धी हक खोसेको छ । 

बालेन स्वयंले अडियो सुन्ने र सिसिटिभी फुटेज चेक गर्ने गरेको स्रोत बताउँछ । हाल उनले पुरानो क्यामेराको मोनिटरिङ युनिट भत्काएर नयाँ बनाउन थालेका छन् । बालेन आएदेखि महानगरको कार्यालयमा भत्काउने र नयाँ बनाउने क्रम रोकिएको छैन । हरेक वर्ष कार्यकक्ष ‘रिनोभेट’ गरिन्छ । अघिल्लो वर्ष मात्र किनेको सामान फालिन्छ र नयाँ हालिन्छ । स्रोत भन्छ, ‘मेयरको शैली राजाको भन्दा पनि कडा भयो । अडियोसमेत भएको क्यामेरामा कर्मचारी या अरुले बोलेको प्रष्टै सुनिन्छ ।’ बालेनले पाँच वर्षे कार्यकालमा एघार सय स्थानमा सिसिटिभी जडान गर्ने लक्ष्य लिएका छन् । 

त्यसका लागि ४० करोड रूपैयाँ विनियोजन गरिएको छ । चार वर्षमा क्यामेरा जडान गरिसक्ने र हरेक वर्ष १० करोडको दरले छुट्याउने योजना छ । सिसिटिभी क्यामेरा मोनिटरिङका लागि नयाँ–नयाँ मापदण्ड बनाउँदा कर्मचारी आजित भएका छन् । मनलाग्दी नियम बनाएर उनले कर्मचारीको सातो खाएका छन् । जसका कारण सूचना प्रविधि विभागमा कोही जानै चाहँदैन् । एकाध महिना टिक्न पनि हाकिमहरूलाई गाह्रो छ । 

नमराज ढकाल मुश्किलले आठ–नौ महिना टिके । सूचना प्रविधि विभागको जिम्मा दिइएका महेश काफ्लेलाई प्रदेशतर्फ सरुवा गरिएको छ । बालेनको अदृश्य लगानी गर्ने प्रवृत्तिले सीमा नाघेको छ । युट्युबमा अलि बढी नै दिलचस्पी राख्ने उनले भर्खरै तीनवटा युट्युब च्यानल किनेको पाइएको छ । 

युट्युबरलाई पैसा दिएर आफ्नो भिडियो बनाउन लगाउने उनले झण्डै १ करोड खर्चेर ‘क्यानाडा नेपाल’ नामक अनलाइनको युट्युब च्यानल खरिद गरेसँगै  च्यानलले मेयरको गुणगान गाइरहेको हेर्न र सुन्न पाइन्छ । युट्युबमा अधिकांश भिडियो बालेनकै छ । बालेन कहाँ गए ? के बोले ? उनका हरेक गतिविधि सो युट्युबले कभर गरेको हुन्छ । शहर बनाउने दावा गरेर आएका मेयरको प्रचारमोहले कर्मचारी आश्चर्यचकित छन् । 

उनले युट्युबमा आएका आफ्ना कन्टेन्ट, भ्युज र कमेन्ट हेर्ने जिम्मा कुमार व्यञ्जनकार, सुनिल लम्साल, भुवदेव साह, गणेश केसी र धिरज जोशीलाई दिएका छन् । बालेनले साफ महिला फुटबल च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला टोलीलाई लगत्तै सोल्टीमा बोलाएर पुरस्कार वितरणका क्रममा गौरवान्वित हुँदै आफ्नो युट्युब भ्युजबारे बताएका थिए । स्रोतका अनुसार बालेन कतै जानुअगावै युट्युबरहरू क्यामेरा तेस्र्याएर बसिसकेका हुन्छन् ।

यसको पुष्ट्याइँ गर्ने थुप्रै उदाहरण छन् । गएको शनिबार तीनकुनेमा भएको ‘कोटेश्वर महोत्सव’ मा बालेन प्रमुख अतिथि थिए । उनकै योजनामा काठमाडौंमा जडित सडकबत्तीका पोलहरूमा बालेनको तस्बिर भएको पोष्टर टाँस्न लगाइयो । कोटेश्वर, बानेश्वरलगायत काठमाडौंका धेरै स्थानमा पोष्टर थियो । नगर प्रहरीको टोलीले राति गएर पोष्टर हटायो । यो बालेनलाई लोकप्रिय बनाउने अर्को तुरुप थियो– आफैं राख्ने, आफैं हटाउने ।

हटाएको दृश्य खिच्न ‘क्यानाडा नेपाल’का युवाहरु नगर प्रहरीसँगै गएका थिए । उनीहरुले भिडियो खिचेर आफ्नो युट्युबमा हाले । अन्यत्र पनि पठाए । भोलिपल्ट बिहानै सो भिडियो सर्वत्र छाइसकेको थियो । स्रोत भन्छ, ‘युट्युबरलाई पनि सुत्नुपर्ला । महानगर प्रहरी कहाँ, कतिबेला जान्छन् भनी कुरेर बस्दैनन् तर उनीहरूले पैसा तिरेर राखेपछि जतिबेला भए पनि जानै प¥यो । दिनभर चम्काएपछि आधारातमा गएर पोष्टर हटाए । त्यतिखेर पनि भिडियो खिचेर हाल्न भ्याए ।’
महानगर प्रहरी प्रमुख कामु एसएसपी राजु पाण्डेले पनि बालेनकै तरिका सिकेका छन् । उनी बर्दीधारी क्यामेरा पर्सन साथमा लिएर हिँड्छन् । दिन होस् या रात, क्यामेरा पर्सन हरहमेशा साथ । उनले गरेका कामहरू, बोलेका कुराहरू बर्दीधारीले खिच्छन् र युट्युबरहरूलाई पठाउँछन् । युट्युबरका लागि उनले छुट्टै ह्वाट्सएप ग्रुप नै बनाएको स्रोतको ठोकुवा छ । 

पाण्डेले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको ‘हरेक न्युज’ नामक युट्युब च्यानललाई समेत आफ्नै बनाएका छन् । केही महिनाअघि सुन्धारास्थित फुटपाथ व्यवसायीसँग झडपका क्रममा ‘हरेक न्युज’ का युट्युबरमाथि आक्रमण हुन लागेको थियो । अन्य पत्रकारले कुटाइ खाँदा नगर प्रहरीले सो च्यानलवालालाई भने मज्जैसँग जोगाएका थिए । महानगरको आफ्नै सञ्चारमाध्यम हुँदाहुँदै युट्युबर पाल्नुले ‘दालमा केही कालो भएको’ संकेत गर्छ । 

हाम्रो काठमाडौं, मेट्रो न्युज महानगरको स्वामित्व भएका सञ्चारमाध्यम हुन् । महानगरका कामको प्रचार गर्नलाई यी सञ्चारमाध्यम नै काफी छन् । ती मिडियाले मेयर र नगर प्रहरी प्रमुखको ‘जयजयकार’ गर्न नमिल्ने भएकाले युट्युबर पालिएको स्रोत बताउँछ । महानगरलाई देशकै उत्कृष्ट शहर बनाउन भनी आएका मेयर र नगर प्रहरी प्रमुख चर्चा कमाउनमै व्यस्त देखिएको राम्रो नमूना हो यो । 

कार्यकारीमाथि हावी नगर प्रहरी

नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतमातहत हुन्छन् । मेयरले भन्दा पनि प्रमुख प्रशासकीय अधिकृतले भनेको नगर प्रहरीले मान्नुपर्छ । तर, यहाँ भने नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतमाथि हावी भएको देखिन्छ । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई महानगरले कारबाहीको लागि सिफारिस गरेको छ । निमित्त तोकेर निस्किएका उनको बारेमा फैसला मन्त्रिपरिषद्ले गर्नेछ । शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्मालाई निमित्त तोकिएको छ । अनिश्चितकालका लागि निमित्त तोकिएकाले उनी कहिलेसम्म निमित्त हुने हुन् भन्न सकिँदैन । नगर प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताला लगाइदिएका छन् । उनले गुरागाइँलाई जबरजस्ती निकाल्दै कोठामा ताल्चा लगाएको बताइन्छ । 

एकतर्फीमा मेयरको मनोमानी 

महानगरभित्रका अधिकांश सडक एकतर्फी (वान–वे) बनाइएको छ । बाटो एकतर्फी बनाउन सवारी र पैदलयात्रीको चाप, बाटोको अवस्थालगायत विभिन्न विषयलाई मध्यनजर गर्नुपर्छ । तर, बालेनले मापदण्ड उल्लंघन गरेर आफ्नो सहजताअनुसार सडक एकतर्फी बनाएका छन् । अधिकांश ठाउँमा महानगरले गरेको एकतर्फी नियमसंगत देखिँदैन । 

दरबारमार्गस्थित महेन्द्रशालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउँछन् । भासिएको सडक मर्मत भएपछि एकतर्फी बनाइएको हो । त्यसैगरी, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडकसमेत एकतर्फी छ । यता, काठमाडौं प्लाजाबाट रोयल सिंगी होटल जाने सडकसमेत एकतर्फी नै छ । लाजिम्पाट बस्ने मेयरले आफू आउँदा जाम खेप्न नपरोस् भनी सो सडकलाई एकतर्फी बनाएको बुझिन्छ । तर, त्यसले सवारी चालकलाई भने असहज भएको छ । साँझ जाममा परेर कन्तबिजोग हुने गरेको सवारी चालकहरू बताउँछन् । सहायक प्रवक्ता काफ्ले महानगरले चाहेर मात्र सडक वान–वे बनाउन नमिल्ने बताउँछन् । सडक एकतर्फी कायम गर्नुअघि ट्राफिक प्रहरीले अध्ययन गर्ने उनको जिकिर छ । 

महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठले सडक वान–वे कायम गर्ने अधिकार स्थानीय पालिकालाई भएको बताए । ट्राफिक प्रहरीसँग सडकको विषयमा अनुभव हुने भएकाले राय मात्र लिइने उनको जिकिर छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नायव उपरीक्षक (डिएसपी) दीपक गिरी भने ट्राफिक प्रहरीको सहमतिबिना कुनैपनि सडक वान–वे बनाउन नमिल्ने बताउँछन् । ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भएकाले स्थानीय पालिकाले समन्वय गर्नैपर्ने उनको भनाइ छ । भन्छन्, ‘सडक विभाग, ट्राफिक प्रहरी र स्थानीय पालिकाको समन्वयमा एकतर्फी कायम गरिन्छ । सडक एकतर्फी बनाउन तीनवटै निकायले अध्ययन गर्छ । स्थानीय पालिकाले चाहेर मात्र सडक वान वे हुँदैन । आखिर खट्ने त ट्राफिक प्रहरी हुन् ।’
 

टिप्पणीहरू