केपीबाहेक अरूको सुरक्षा नगर्ने कमरेड ?
फाइल फोटो
आसन्न पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका इतर नेताहरूले आम कार्यकर्ताबीच एउटा प्रश्न राख्न थालेका छन्– के हाम्रो पार्टीमा केपी ओलीको मात्रै सुरक्षा भए पुग्छ ? अरु नेताबारे चाहिँ कसैले चासो र चिन्ता लिनै नपर्ने हो ? देशभरिका युवा कार्यकर्तालाई पालो लगाएर गुण्डुमा सुरक्षित रहँदै आएका केपी ओलीले गरेको पार्टी शक्तिको प्रयोगमाथिको टिप्पणी हो यो ।
ओलीले आफ्नै मात्रै सुरक्षालाई केन्द्रमा राखेर चलाएका गतिविधि अहिले धेरै नेतालाई पचिरहेको छैन । भन्छन्, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीदेखि महासचिव ईश्वर पोखरेल, शंकर पोखरेल, नेताहरू युवराज ज्ञवाली, रघुवीर महासेठ, रघुजी पन्तलगायत धेरैको घर जलेर अन्यत्रै बास बसिराख्नुभएको अवस्थामा ओलीलाई मात्रै पालो बसेर सुरक्षा दिइरहनुपर्ने मान्यता कसरी सही ठहर्न सक्छ ?’
यसले गर्दा पार्टीको सार्वजनिक छविसमेत धुमिल भएको आरोप ती नेताले लगाउने गरेका छन् । नेता–कार्यकर्ताको चिन्ताको विषय के छ भने अध्यक्ष ओली युवा कार्यकर्ताको सुरक्षा घेराभित्रबाट त्यस्तो अभिव्यक्ति दिइरहेका छन् जसकारण अरू नेताको सुरक्षा चिन्ता थपिँदो छ । उनले अहिलेको सरकारलाई असंवैधानिक भन्नेदेखि लिएर यसका सबै नीति र योजनाहरूलाई अमान्य घोषित गर्दै आएका छन् । त्यसमाथि संगठित हुँदै गएको जेनजी आन्दोलनका नेताहरू माथिसमेत निकै कडा रूपमा प्रस्तुत हुन थालेपछि फेरि कतै त्यो पुस्ताको थप आक्रमणको शिकार त आफूहरू बन्नुपर्ने होइन भन्ने चिन्तासमेत दोस्रो तहका नेताहरूलाई थपिएको हो ।यसरी अध्यक्षको आत्मसुरक्षावादी सोच र चिन्तनले दिग्दारीमा परेका नेताहरूले पार्टी बैठकमा उनका प्रस्तावहरूलाई भटाभट अस्वीकार गर्न थालेका छन् । हालै सम्पन्न पदाधिकारी बैठकमा ओलीले महाधिवेशनको प्रतिनिधि संख्या घटाउन राखेको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको छ ।
बैठकमा ओलीले महाधिवेशनमा चानचुन २२ सय हाराहारी प्रतिनिधिहरू छनोट भएर आउने हुँदा त्यो संख्या घटाएर ११/१२ सयमा सीमित गर्ने प्रस्ताव राखेका थिए । त्यस्तो प्रस्ताव गर्नु पछाडिको उद्देश्य जसरी पनि आफ्नो पक्षमा बहुमत प्रतिनिधिहरू उपस्थित गराउने हो । अहिले केन्द्रीय कार्यसमितिमा ओलीको बहुमत छ । उनले मनोनीत गरेका नै सय जनाभन्दा बढी छन् भने आयोजकका हैसियतमा लगभग ५ सय स्वतः प्रतिनिधि भएर आउनेछन् । त्यसमा ओलीको बहुमत छ । एमालेले प्रत्येक विभागबाट समेत थप एकएक जना प्रतिनिधि सामेल गराउने भनेको छ । यसरी अर्कै बहाना बनाएर भए पनि बहुमत पुर्याउने उद्देश्यसाथ ल्याइएको प्रतिनिधि घटाउने प्रस्ताव बैठकद्वारा अस्वीकृत भएको हो । प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जना प्रतिनिधि आउने व्यवस्था रहेकोमा त्यसलाई चार जना पुर्याउने प्रस्तावसमेत पारित भएको छ ।
यसअन्तर्गत ४० वर्ष उमेरभन्दा तलको संख्या बढ्दैछ । जुन ओलीको विरुद्धमा हुन सक्छ । ओली भने पार्टीभित्र केको उमेर हद भन्दै थिए । तथापि, वकालत गर्ने तीन चार जनाभन्दा बढी पदाधिकारी नहुँदा ओलीको बोली बैठकमा पारित हुन सकेन । समाचार स्रोतका अनुसार अझै पनि आफ्नो कमजोरी लुकाउन बैठकमा ओलीले प्रतिगामी षड्यन्त्र भयो, प्रतिक्रान्ति हावी भयो भन्नेजस्ता कुरा गर्न भने छाडेका छैनन् । नेपालको विकास र समृद्धिबाट विदेशीहरू आत्तिएको कारण यहाँ उनीहरूले सत्तापलट गराएको ओलीको आरोप बैठकमासमेत दोहोरिएको ती नेताले जानकारी दिएका छन् ।
ओलीका पछिल्ला बोलीका कारण पार्टी थप कमजोर बन्दै गएको चिन्ता व्यक्त गरिरहेका नेताहरू साथीभाइसँगको गफमा भन्न थालेका छन्, ‘ओलीले आफू र पार्टी मात्र डुबाएनन् हामी सबै नेता–कार्यकर्ताको बिल्लीबाठ पारेर छोड्ने भए । यदि यस्तै हो भने एमालेको पक्षमा अत्यन्तै कम भोट झर्छ । ओलीलाई लिएर भोट माग्न जान सकिन्न । फेरि उनी नै अध्यक्ष बने भने एमालेलाई विगतमा भोट हालेका कार्यकर्ताले समेत अन्यत्रै एकोहोरिने सम्भावना धेरै छ ।’
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू