एमाले नेताकी फरार पत्नी बिहान हाजिर, बेलुकी धरौटीमा रिहा

एमाले नेताकी फरार पत्नी बिहान हाजिर, बेलुकी धरौटीमा रिहा
सुन्नुहोस्

सहकारी घोटालामा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतका तहसिलदार हरिप्रसाद गुरागाईंका अनुसार कोइराला धरौटी रकम तिरेर रिहा भइसकेकी छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार उनी आज बिहान कार्यालय खुलेपछि अदालतमा हाजिर भएकी थिइन् ।

मोरङको धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना गरेको अभियोगमा अञ्जलासहित २६ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ ।  

यसअघि पक्राउ परेका सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास यसअघि पाँच लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । सहकारी सञ्चालक समितिकी सदस्य रहेकी अञ्जनाकै योजनमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट झण्डै साढे ११ करोड ऋण लिएको प्रहरी अनुसन्धानमा देखिएको बताइन्छ ।

रकम हिनामिनामा आफ्नो कुनै संग्लनता नरहेको अञ्जलाको दाबी छ । सभापति पोखरेलले पनि श्रीमतीलाई जोगाउन सबै दोष अध्यक्ष रौनियारमाथि लगाउँदै आएका छन् ।

टिप्पणीहरू