जर्सा‘बको ज्यादती बढी भो कि !

जर्सा‘बको ज्यादती बढी भो कि !

खेलकुद र अस्पतालपछि काठमाण्डौको न्यूरोड महांकालस्थित कल्याणकारी कोषद्वारा निर्मित व्यापारिक भवनमा कार्यरत जर्नेल भाइकाजी खत्रीले व्यापारी–व्यवसायीलाई मज्जैसङ्ग तर्साउने गरेको पाइएको छ ।

‘तिमीहरूलाई यो भवनबाट निकालिदिन्छु’ भन्दै बेलाबेला अश्लिल गालीगलौज गर्ने गरेको आरोप छ । अहिले सञ्चालनमा रहेका सटरका झण्डै डेढदेखि दुई सय व्यापारीलाई त्यहाँबाट निकाली सो भवन कुनै सञ्चालकलाई जिम्मा लगाउने मनशाय देखिन्छ । 

नेपाली सेनाले २०७८ सालमा भवन भाडामा लगाउनेसम्बन्धी टेण्डर खुलाएकोमा श्री जयन्ती निर्माण सेवाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का हात पारेको हो । २८ वटा कम्पनी बोलकबोलमा सहभागी थिए । ०७८ साल असोज ६ गते ‘क’ वर्गको टेण्डर पारेको निर्माण कम्पनीले मासिक चार करोड ११ लाख रूपैयाँ भाडामा सम्झौता गरेको थियो । यद्यपि, सेनासँग कुरा नमिल्दा भवन हस्तान्तरण हुन सकेन । 

२५ वर्षदेखि सेनाभित्र निर्माण तथा खरिदमा संलग्न रहँदै आएका खगेन्द्र बुढामगरले पाँचौँ तल्लाको विशाल भवन १५ वर्षका लागि लिजमा लिए पनि खटपट भएपछि दुई वर्षअघि सम्झौता रद्ध गरियो । त्यसपश्चात् ०७९ साउन १ गतेदेखि सैनिक कल्याणकारी कोष आफैँले सटरहरू भाडामा लगाउने, ग्राउण्डमा रहेका पार्किङका साथै अन्य मर्मत सम्भार तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । तर पूर्वाधारतर्फ आवश्यक काम भने भएको छैन ।

लिफ्ट, जेनेरेटर, एलिभेटर लगायतका पूर्वाधार सुधारमा जर्नेल खत्रीलाई पटक–पटक जानकारी गराउँदा पनि अटेरी गर्ने गरेको गुनासो छ । त्यसैगरी, दिनमै चार–पाँच घण्टासम्म बत्ती जाने, इन्टरनेटले काम नगर्नेजस्ता समस्या रहँदारहँदै सुधार तथा मर्मततर्फ ध्यान नदिने तर पार्किङको मासिक २६ देखि ३२ लाखसम्म आम्दानी हुने ठाउँमा उनी आफैँ बेलाबेलामा गएर बस्ने गरेको अवस्था पनि छ । चुहावटको चेकिङ गर्नु राम्रै कुरा हो तर सैनिक कर्मचारीहरूलाई पार्किङमा पठाएर व्यापारीमा मनोवैज्ञानिक त्रास पार्दै आएको अर्को गुनासो पनि सुनिन्छ ।

अर्बौ लगानी गरेका थोक व्यापारीहरूलाई भने करोडौं रूपैयाँ उधारो दिएर व्यापार गर्नुपर्ने अवस्था छ । झण्डै हजारको हाराहारीमा कार्यरत जनशक्ति सो व्यापारसँग जोडिएको छ । तर, तिनीहरूलाई बेलाबखत तर्साउने काम हुँदै आएको छ । दशैँ र तिहारजस्तो बढी व्यापार हुने बेलामा ‘हामीसँग गार्ड छैन’ भन्दै उज्यालैमा कम्प्लेक्स बन्द गराउने कामसमेत भयो । 

यसको मारमा सञ्चालक बुढामगरदेखि त्यहाँ कार्यरत व्यापारीहरूसम्म परेका छन् । भनिन्छ, ‘सो कम्पनीसँग तेस्रो र चौथो तल्लाको लागि सम्झौता भएको थिएन । सोही कारण व्यापारमा लागेका ती तलाका एक दर्जनबढी व्यापारी ६ महिनाअघि पलायन भएका छन् । झण्डै पाँचदेखि छ सयको हाराहारीमा सटरहरू रहेकामा अहिले बढीमा दुई सय मात्र चलेको देखिन्छ ।

यो स्थितिका बाबजुद साउन १ गते वर्ष दिनकै भाडा लिने सम्झौताअनुसार दुई वर्षदेखि व्यापारीहरूले कल्याणकारी कोषलाई अग्रिम भाडा तिर्दै आएका छन् । यसअघि तेस्रो र चौथो तल्लाका व्यापारी वीचैमा धपाइए पनि उनीहरूले अग्रिम भाडावापत तिरेको रकम फिर्ता पाएनन् । यता, सेना र जयन्ती निर्माण सेवाको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ । यही पुस २४ र २५ गते दुई पक्षलाई मिलापत्रका लागि बोलाइएको छ । यसैबीच करिब ६ महिनाअघि दिक्क भएका व्यापारीको तर्फबाट पनि व्यवसायिक वातावरण बिग्रेकोमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको अवस्था छ । 

– जर्नेलको ज्यादतीबाट पीडित व्यापारीहरू
 

टिप्पणीहरू