मालपानीको चाल, यताउतिमा कमाल
सेटिङ्ग मिलाएर राज्यलाई कंगाल तथा सीमित ब्यवसायीलाई मालामाल बनाउनमा सरकारी कर्मचारी नै उद्यत छन् । व्यापारीकै इच्छाअनुसार कर्मचारीलाई कसरी ठाउँ ठाउँमा फिट गराइन्छ र स्वार्थअनुकूल काम तमाम गरिन्छ,एउटा उदाहरण हेरौंः
रूपन्देहीका नवधनाढ्य उद्योगपति कमलकिशोर मालपानीको ‘माल’खाएर एउटा चल्तापुर्जा उपसचिवलाई बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा लगिएको चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतिर व्याप्त छ । यसको चाँजोपाँजोचाहिँ बजेटमा मुसा छिराउने उनै पूर्वनासु रघुनाथ घिमिरेले मिलाएका हुन् । घिमिरेले जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराति मन्त्रालयमा छिरेर करका दर हेरफेर गरेका थिए । अहिले रूपन्देहीमा मालपानीसँग नजिक रहेर काम गरिरहेका उनैले विवेकलाई सामान्य प्रशासन मन्त्रालयबाट रुपन्देही पुर्याउने काम गरेको बताइन्छ ।
विवेक अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । बालुवाटारकै भिटो लगाएर उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयमा पुगे । त्यहाँ छायाँमन्त्रीकै रुपमा काम गर्न थाले, पछि मन्त्रीले सामान्यमा सारे । त्यहाँबाट प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग हुँदै बुटवल लगिएको छ उनलाई । विवेक त्यहाँ बसुञ्जेल भोला गुट्खा र करेन्ट चाउचाउवाला मालपानीलाई छुन नपाइने शर्त छ ।
उता, राजश्व अनुसन्धान विभागको चार नम्बर पिल्लरले हात हालेको अर्काे केस विवादित बन्न पुगेको छ । त्यहाँका हर्ताकर्ता छन् मणिराम पौडेल । दुई पटकसम्म भैरहवा भन्सारमा बसेका उनी पछिल्लो पटक काजु काण्डमा मुछिएर त्रिवि एयरपोर्ट भन्सारमा तानिएका हुन् । त्यहाँबाट पुल्चोकस्थित राजश्व अनुसन्धान विभाग पुगेका उनैले अहिले व्यापारी बुद्ध लामाको केश हेरिरहेका छन् । २ मंसिरमा रसुवा भन्सारबाट पास भएको कन्टेनरमा सुटकेशको प्रज्ञापनपत्र बनाएर ३२ सय जोर ब्राण्डेड जुत्ता पास गराइएको थियो । यही प्रकरणमा राजश्वले बुद्ध लामालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान अधिकारीहरुका अनुसार, जुत्ताको मूल्य ४५ डलर अर्थात् नेपाली ६ हजार ७५ रुपैयाँ पर्न आउँछ ।
३२ सय जोडा जुत्ताकोे बिगोमात्र १ करोड ९४ लाख ४० हजार,त्यसमा ३० प्रतिशत भन्सार, १३ प्रतिशत करसमेत जोड्दा ९१ लाख ३६ हजार ८ सय र बिगो २ करोड ८५ लाख ७८ हजार ८ सय हुन आउँछ । बिगो, जरिवानासमेत गर्दा झण्डै ५ करोड ११ लाख ५३ हजार रकम पुग्छ । यसरी लामाको वजन इन्टरप्राइजेजबाट आयात भएको सामानमा ५ करोड बढी राजश्व गोलमाल भएको छ । अहिले उनै मणिले केही करोड लिएर उनलाई उम्काउन खोजेको चर्चा छ । त्यहाँका छायाँ डिजी राजन बिसीलाई पनि दैनिक न्यूरोड पुगेर व्यापारीहरुलाई आतंकित पार्ने गरेको आरोप छ ।
पछिल्लो समय राजश्व अनुसन्धान विभागबाट छानी छानी कांग्रेस र माओवादी कर्मचारीहरु लखेटिने गरेका छन् । ६ नम्बर पिल्लर हेर्दै आएका दिनेश शिवाकोटी ६ महिनामै धपाइए । विकास रिजाल पथलैयामा थिए, तीन महिनामै लखेटिए । सात नम्बर पिल्लर हेर्ने मंगल बिष्ट पाँच महिनामै खेदिए । कर्मचारी सरुवाको जिम्मा सामान्यका उपसचिव कमल भट्टराई र कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारी (आरसी) लाई दिइएको छ । आरसी एक दशकभन्दा लामो समयदेखि सामान्य प्रशासनमा बसेर कर्मचारी सरुवामा चलखेल गर्दै आएका एमाले निकट कर्मचारी नेता हुन् । एक दशकमा दर्जन मन्त्री, सचिव, सहसचिव हेरफेर भइसके तर उनलाई सिंहदरबार छाडेर जानुपरेको छैन ।
केही महिनाअगाडि मात्र उपसचिव बनेकी कृष्णकुमारी श्रेष्ठ राजश्व अनुसन्धानको उपमहानिर्देशक छिन्, तर कुनै जिम्मेवारी छैन । राजश्व अनुसन्धानजस्तै सम्पत्ति शुद्धीकरण विभाग पनि एमालेको घर बन्दैछ । प्रधानमन्त्री कार्यालयमा दर्जनौं कर्मचारी फाजिल छन्, त्यसरी थन्काइएका अधिकांश माओवादी निकट हुन् ।
टिप्पणीहरू