माला लाइदिनेको कस्तो रै’छ त मुख ?
‘भ्रष्टाचारीको मुखै नहेर्ने’ हाम्रा सम्माननीयको उद्घोष ! तर तिनै प्रधानमन्त्रीलाई घुसखोरीको बात खेपिरहेका बहालवाला मन्त्रीको स्वकीय सचिवले १८० किलोको माला पहिर्याएर नागरिक अभिनन्दन गरेका छन् ।
एमालेबाट ३ नेता लखेटिएकै दिन पर्साको सखुवा प्रसौनी पुगेर सम्माननीयले यति ठूलो माला पहिरिएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अगुवाईमा भएको उक्त कार्यक्रममा मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेता पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव, र खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललगायत थिए । उनीहरुलाई साक्षी राखेर प्रधानमन्त्रीलाई अभिनन्दनको चाँजो पाँजो मिलाउने पात्र मन्त्री राजकुमार गुप्ताका स्वकीय उपसचिव शिव पटेल हुन् । यिनैले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सातदेखि दश लाख रकम मोलमोलाई गरेको संवाद (च्याट) जनआस्थासँग सुरक्षित छ ।
पटेलले पर्साकै एउटा नगरपालिकामा प्रशासकीय अधिकृत (उपसचिव) खटाउनका लागि सात लाख मागेको च्याट बाहिरिएको धेरै भएको छैन । पटेल यसअघिको स्थानीय निर्वाचनमा बहुदरमाई नगरपालिकाबाट मेयरका उम्मेदवार थिए । जसपाका सिंगासन साह तेलीबाट पराजित भए । मेयरमा हारेका उनी गत श्रावण ९ गतेदेखि मन्त्री गुप्ताको सचिवालयमा छन् । पर्साकै स्थानीय तहमा जान पाऊँ भनी रोइकराई गर्ने व्यक्तिले ५ लाख ५० हजार सम्ममा मिलाइदिन आग्रह गरेका छन् तर पटेलले भने सात लाख लिएर आफूलाई जानकारी गराउन भनेका छन् । यो संवाद ४ सेप्टेम्बरको हो ।
उता भिजिट भीसाका नाममा एयरपोर्ट अध्यागमनमा अड्डा जमाएका राजीव महतोलाई मन्त्री राजकुमार गुप्ताकै सचिवालयले जोगाएको छ । उनीमाथि बिचौलियासँग झण्डै डेढ करोड रकम असुलेको आरोप लाग्यो । कार्यालय प्रमुखहरुले छानबिन र स्पष्टीकरण सोध्न थालेपछि मन्त्री गुप्ताको सचिवालयमार्फत चलखेलमा लागे । मन्त्रीका छोराको क्लासमेट रहेका उनले स्पष्टीकरण समेत दिएनन् ।
बरु यो प्रकरणमा कारवाही गर्न खोज्ने सुरेश पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र कोषहरि निरौलालाई सञ्चारतिर सरुवा गराएर त्यहाँ काठमाडौंको एलडिओ हुँदा खरिदमा अख्तियार खेपेका, रवि लामिछाने गृहमन्त्री हुँदा पञ्जीकरण पुगेर सफ्टवेयर खरिद विवादमा मुछिएका तीर्थ भट्टराईलाई लाने काम भयो । उनै भट्टराईले साधारण स्पष्टिकरणसमेत नसोधी महतोलाई अर्थमा जाने व्यवस्था मिलाइदिएका छन् ।
टिप्पणीहरू