अराजक भीडले कस्तो ल्याउँछ अवस्था ?
राजनीति सबै नीतिको मूल नीति हो । राज्य र समाजमा रहेका द्वन्द्वहरूलाई शान्तिपूर्ण विधिबाट समाधान गर्ने माध्यम हो राजनीति । दर्शन, सिद्धान्त, विचार र मान्यता नभएको संगठन भुत्ते हतियार जस्तो हुन्छ । विचार र सिद्धान्त तथा संगठनको सम्बन्ध मानिससँग हुने भएकोले त्यसमा मानवीयता, नैतिकता, मानवीय मूल्य, सद्व्यवहार, गुण, आदत र कार्यशैलीको ठूलो भूमिका र अर्थ रहन्छ ।
राम्रो सिद्धान्त र उत्कृष्ट संगठन भएर पनि नेतृत्वकर्तामा आधारभूत नैतिकता र व्यवहार भएन वा पालना गरिएन भने त्यो झुटो र कमजोर बन्न पुग्दछ । निरंकुश पञ्चायती शासनताका राजनीतिक नेतामा उच्च नैतिक बल थियो । राजाको निरंकुशता फाल्ने संघर्षका बेलासम्म पनि त्यो नैतिकता कायमै रह्यो । अहिले भने नैतिकताको प्रश्न बढी उठ्ने गरेको छ ।
गौतम बुद्धका विचार र दर्शन यसकारण मान्य र जीवित छन् कि त्यहाँ त्यो मान्यता र विचारलाई आदर्श ठान्दै पालना गर्नेहरूको संख्या अत्याधिक छ । विचार, दर्शन र मूल्यको पालना गरिदिने मानिस भएन भने त्यो विचार मात्र रहन्छ । यी दुवैको सन्तुलन मिलाउन सक्नु तथा व्यवस्थापन गर्नु नै उत्कृष्ट नेतृत्वको कला र क्षमता हो । त्यसका लागि नेतृत्वकर्ता आफैंमा नैतिक चरित्र उच्च हुनु आवश्यक छ ।
निश्चित प्रकारको संगठन र त्यसको विधिसम्मत व्यवस्थापन अर्काे अनिवार्य विषय हो । सिद्धान्तलाई लागू गरी अघि बढ्नको लागि सो अनुकूलको संगठन आवश्यक पर्दछ । संगठन सञ्चालन गर्न विधि, पद्धति, विधान, नियम, न्यूनतम मूल्य आदिलाई संस्थागत गरिएको हुनुपर्दछ । निश्चित विधिमा पार्टी सञ्चालन हुन सकेन भने त्यो अराजक भीडमा परिणत हुन सक्छ ।
भीडले नेताको उक्साहटमा वा अन्य कारणबाट बिगार्न, भत्काउन, नाश गर्न, नोक्सान गर्न, विभिन्न प्रकारका क्षति गर्न सक्ने क्षमता राख्दछ । तर निर्माण गर्न, बनाउन, सुधार गर्न, सच्याउन, सत्कार्य सम्पन्न गर्न, तथा समग्र व्यवस्थापन गरी निश्चित लक्ष्यमा पुग्नको लागि भने उद्देश्यमूलक विचार, सिद्धान्त र कार्यक्रमसहित नैतिक बलसमेत भएको निश्चित संगठन चाहिन्छ । विधि, प्रक्रिया र प्रणाली बनाइएन वा लागू गरिएन भने त्यसले अराजकता र विधिहीनतालाई निम्त्याउँछ । त्यस्तो तरिकाले संगठनमा चौतर्फी अराजकतासिवाय केही दिँदैन । यस्तो संगठनको कुनै भविष्य पनि हुँदैन ।
राजनीतिमा टाउका र भीड आवश्यक हुने भए पनि विचारविहीन ‘भेडाको बथान’ जस्तो भीडको अर्थ हुन्न । जिम्मेवारी र पदीय व्यवस्थापनको पक्षले पनि संगठन र पार्टीमा उर्जा थप्ने र ऊर्जा गिराउने काम हुन्छ । जिम्मेवारीमा अन्याय भयो र पक्षपात गरियो भने त्यसले संगठनमा लाग्नेहरूको मनोबल गिराउँछ । मनोबल गिरेको संगठनले केही गर्न सक्दैन ।
खासमा राजनीतिक पार्र्टी जनताद्वारा, जनताको हित र राजनीतिक तथा सामाजिक आवश्यकताको सुरक्षाका लागि खोलिने मानवीय समूह र संरचना हो । त्यसैले जनता र नागरिकको तहबाट आएका आलोचना र सुझावलाई आत्मसात् गर्न सक्नु पर्दछ । गतिशील संगठनबिनाको नीति विचार, कार्यक्रम, सिद्धान्त, मान्यता दराजमा राखिएको पुस्तक भित्र रहेको कालो अक्षरजस्तो मात्र हो । भीडमा साझा कुरा र सामूहिकता खोज्न सकिन्न । त्यसैले भीडमा कसैको लक्ष्य, मान्यता, सिद्धान्त कसैसँग मिल्दैन ।
टिप्पणीहरू