एमाले डुबे भावी नेता केमा बसेर तैरलान् ?
इलामको उपनिर्वाचनमा मिलन लिम्बूले जितेको या रास्वपाको जमानत जोगिएको भए अनि रवि लामिछानेका अनेकन फन्डा बाहिर नआएको भए, उनले गृहमन्त्रालयको लागि मरिहत्ते गररे नलागेको भए काँग्रेस र एमालेभित्र चित्त नबुझेर बसेकाहरू घण्टी बजाउन कुदिसकेका हुन्थे। तीतो सत्य के हो भने काँग्रेस र एमालेका कार्यकर्ताहरू नैं आफ्नोनेतृत्वसँग खुशी छैनन्। सर्वसाधारणमा पनि पुराना दलहरूप्रति वितृष्णा बढ्दो छ । तर अहिले तिनले अन्त जाने ठाउँ पाएका छैनन्।
नेपालको बिडम्बना नै हो कि नागरिकहरूलाई एउटा न एउटा सत्तारुढ दलसँग निकट हुनुपर्ने बाध्यता छ । किनभने यहाँ विधिको शासन छैन । विधिको शासन नभएकाले भनसुन बाहेक अर्थोकले केही काम बन्दैन । हुँदाहुँदा अस्पतालमा उपचार र भर्ना गर्न पनि डाक्टरलाई नेताको फोन गराउनु पर्ने अवस्था छ । यसैकारण अहिले दलभन्दा अलग्गै बसेर सर्वसाधारणले केही गर्न सक्दैन र चित्त नबुझे पनि सँगै बस्नु परको छ ।
विकल्पमा देखिएकाहरू समेत झनै लिच्चड निस्किएपछि पुराना पार्टीसँग मन कुँडिएका कार्यकर्ता र समर्थकहरू खुम्चिएर बसेको यथार्थ हो।प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी. ओलीलाई टुँडिखेल र रंगशालामा हुटिङ गर्नेहरू नैं हिजोसम्म ‘आइ लभ यु केपी बा !’ भन्दै कुर्लिन्थे। आज तिनै युवाहरू ठाउँ कुठाउँ असन्तुष्टि पोख्दै गरका भेटिन्छन्।
मौका पाउनेबित्तिक्कै यस्ता असन्तुष्ट जमातले केपी बा,शेरबहादुर दा, गगनलगायत सबैलाई यसरी नै एक्लै बनाउँदै जाने हुन्। केपी ओली जति पटक प्रधानमन्त्री बन्दै गए त्यसरी नै क्रेज बढ्नु पर्नेमा क्रमशः घट्दै गएको छर्लङ्ग छ । एमाले पार्टीभित्र ‘ओलीका विरुद्ध लागे सकिहाल्छन् त्यसैले चित्त नबुझे पनि चुपचाप बस्नुनैं श्रेयस्कर हुन्छ’ भन्ठान्नेहरूको जमात ठूलो छ । पार्टीभित्रै अर्को विकल्प हुन सक्छ भन्नेमहसुस हुनासाथ परिस्थिति पल्टिने पक्का छ । केपी ओलीसँग नजिक रहेर रमाइरहेकाहरूले त्यस अवस्थामा दुःख पाउने र आन्तरिक चुनाव हार्न सक्ने परिस्थिति पनि जन्मिन सक्छ ।
यदि अहिले नै महाधिवेशन हुने अवस्था आयो र ओलीले अध्यक्षमा नउठेर शंकर पोखरललाई उत्तराधिकारीका रुपमा अगाडि सार भने भएभरका नेताहरू विपक्षमा संगठित नहोलान् भन्न सकिन्न । त्यसैले सक्रिय राजनीतिमा फर्किन्छु भन्ने आशयको अभिव्यक्ति दिए पनि ओलीकोविकल्प वा अर्को शक्तिकेन्द्र स्थापित हुन्छ भन्ने बुझेका शंकर पोखरलहरूले तत्काल विद्या भण्डारीलाई पर राख्दै आएका छन्। त्यसो त पूर्व राष्ट्रपति विद्यालाई पार्टी राजनीतिमा आउनबाट रोक लगाएको हल्लाका पछि पनि चतुर अध्यक्ष केपी ओलीकै हात हुने आशंका गरिन्छ ।
ओलीलाई स्पष्ट रुपमा के थाहा छ भने आउँदो महाधिवेशनसम्ममा आफू या रोजेको पात्रलाई अध्यक्षमा जिताउन सक्ने अवस्था भए उसैलाई काँध थाप्ने अन्यथा भण्डारी कार्ड प्रयोगमा ल्याउन सकिन्छ । भण्डारीलाई आफ्नो इच्छा वा रुचि विपरितको मान्छे अध्यक्षमा नआओस् भनेर व्याकअप फोर्सको रुपमा राखिएको ठान्नेहरूको एमालेमा कमी छैन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू