अदालतमा बयान फेरेपछि सरकारी साक्षीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ ।
घुस–रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका पर्साका पोखरीया नगरपालिका–२ का चन्दनकुमार मिश्रउपर आयोगले मुद्दा चलाएको हो ।
आयोगको टंगालबाट खटिएको टोलीले गत भदौ २७ गते साइबर ब्युरोका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीलाई ९९ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा उनले साइबर अपराध मुद्दा मिलाइदिन्छु भन्दै प्रतिवादीका दाजु मिश्रसँग घुस बुझेको खुलेको थियो ।
अख्तियारका अनुसार अनुसन्धान अधिकृतसमक्ष बयान दिने क्रममा उनले पनि सो कुरा स्वीकारेका थिए । त्यसकारण उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा समेत छुट दिइयो ।
तर, विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा मिश्रले आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोरा प्रतिकूल हुने गरी दिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ९९ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू