बुझे फुर्केलान्, नबुझे त के होला होला !
विभिन्न कारणवश रिक्त केही स्थानीय तहको निर्वाचन मंसिर १६ गते सम्पन्न भएको छ । त्यसको नतिजा विश्लेषण गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हौसिएको छ भने पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो पार्टी एमालेले आत्मसमीक्षा गर्नुपर्ने देखिएको छ ।
४१ स्थानका लागि भएको चुनावमा एमाले र कांग्रेसले केन्द्रीय र संघीय सत्तामा साझेदारी गरेजस्तै केही ठाउँमा प्रतिस्पर्धा र कतैकतै सहमति गरे । धेरैजसो ठाउँमा एक्लाएक्लै खडा भए । साना वामपन्थी दलले भने कतिपय स्थानमा तालमेल गरेकै देखियो । मतको हिसाबले यसअघि कांग्रेस र वामपन्थीले प्राप्त गरेको मतमा तात्विक अन्तर पाइँदैन । चुनाव हो, प्राविधिक रुपमा हारजित थोरबहुतले हुने नै गर्छ । तर यसले दलहरुप्रति समग्र मतदाताको रुझानमा खासै फरक पारेको देखिएन । उदाहरणका लागि कम मत खसेको कीर्तिपुरमा सबै उम्मेदवारले ०७९ को तुलनामा कम भोट पाए भने जित्नेले पनि अनुपातिक रुपमा पाएको मत कम नै हो ।
सर्सती हेर्दा कांग्रेसको भोट घटेको जस्तो देखिए पनि अरुको अवस्था पनि उस्तै छ । एमाले र माओवादीकेन्द्रकै मत कम आएको छ । अघिल्लो चुनावमा दोस्रो भएको एमाले तेस्रो र तेस्रो स्थानको माओवादी दोस्रो स्थानमा उक्लिएको अवस्थालाई गहिरिएर विचार गर्ने हो भने वामपन्थीहरुको भोट यताको उता गएको हो भन्न सकिने अवस्था छ । अनुपातिक रुपमा वामपन्थीहरुको भोट जोड्दा काँग्रेसको भन्दा बढेकै देखिन्छ । काठमाडौं १६ मा रास्वपाले जितेपछि काठमाडौंको शहरी मत डोलायमान रहेको पुनः पुष्टि हुन आउँछ ।
देशभरिका अन्य स्थानमध्ये केही नयाँ ठाउँमा नेपाली काँग्रेस र केही ठाउँमा एमाले त केही ठाउँमा माओवादी केन्द्रले जितेका छन् । कीर्तिपुर कायम राख्दा अन्यत्र नेपाली काँग्रेसले कतिपय वडा गुमाएको पनि छ । अघिल्लो पटक माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाली कांग्रेस संयुक्त भएर एमालेविरुद्ध लडेका थिए । त्यस्तो ठाउँमा एमाले दोस्रो भएको थियो । तर यसपालि भने सबै एक्लाएक्लै लडेका कारण स्वभाविक रुपमा एमाले उम्मेदवारले बाजी मार्न पुगेका छन् । एक दुई स्थानमा माओवादीले अवस्थामा सुधार गरेको देखिन्छ ।
माओवादीले जितेको एक ठाउँ जनता समाजवादी पार्टीले फुत्काएको छ । यसैगरी एकीकृत समाजवादीले पनि नयाँ एक ठाउँमा जितेको देखिन्छ । उपनिर्वाचनलाई २०८४ को संसदीय निर्वाचनको लागि सर्वेक्षणात्मक नमूना मतदानको रुपमा लिने हो भने अहिले पनि वामपन्थीहरुप्रति नै जनताको स्पष्ट रुझान देखिन्छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नेमकिपालगायतले प्राप्त गरेको मतलाई जोड्दा यो कुरा प्रष्ट हुन आउँछ । वामपन्थीहरुको पकड घटेको छैन तर पार्टी टुक्रिँदा वा वामपन्थीहरु एक हुन नसक्दा मतदाता विभाजित हुन पुगेका छन् ।
टिप्पणीहरू