सरोकार के हुनुपर्ने हो सरकारको ?
सरकारमा बस्दा सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक, विधवा र अपांगलाई वितरण गर्दै आएको भत्ताकै कारण एमालेले आजसम्म पनि जनताको मन जित्न सकेको हो । सरकारमा बसेर यसरी नै खुरुखुरु सर्भिस डेलिभरीका काम गर्न सकिन्छ ।
सरकारमा जानु भनेको कसले के भन्छ, कुनै पर्वाह नगरी जनताबाट उठेको कर जनताकै सर्वोत्तम हितमा व्यवस्थित हिसाबले परिचालन गर्नु हो । गल्ती गरिस् भनेर औंला उठाउनेलाई ठेगान त असहिष्णुले मात्र लगाउँछन् । जनताको मन जित्ने काम गर्दा गाली खाइरहनै पर्दैन । साना व्यवसायी वा उद्योगीले आफ्नो व्यवसाय रुग्ण हुँदा आर्थिक अनुदान नदिने, राजश्व वा करमा कुनै किसिमको छुट नदिई जरिवाना लिने, व्यवसाय वा उद्योग सञ्चालन गरे गर् नगरे नगर् भनेर बेवास्ता गर्ने चलन कायमै छ । तर, प्रधानमन्त्री तहबाट चाहिँ ठूलाठालुले उपभोग गरेको बिजुलीको अर्बौं बक्यौता रकम तिराउने सवालमा विद्युत् प्राधिकरणसँग पौंठेजोरी खेल्दै गरेको अवस्था छ । ५ वर्षअगाडि प्रेस काउन्सिलले पाँचवटा कानुन उल्लंघनमा कारवाही प्रक्रिया अघि बढाउँदा यिनै प्रधानमन्त्रीबाट उल्टै रविलाई धाप मार्ने काम भएको थियो ।
अर्कोतर्फ उनका यिनै कमजोरीबारे सडकमा कुरा उठाउनेहरूविरुद्ध कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै गुनासो पोख्ने काम पनि भइरहेकै छ । एक जना अमेरिकी अर्थशास्त्रीले राष्ट्रपतिमा दोस्रो पटक विजयी भएका डोनाल्ड ट्रम्पको आलोचना गर्दै देशभित्र कर घटाउँछु भन्ने तर बाहिरबाट आयात हुने सामग्रीको भन्सार दर बढाउँछु भनेकोमा घोर आलोचना गरेका छन् ।
यसबाट जसले धेरै तिर्दै आएका छन् अर्थात् उद्योगी र व्यापारीको करमा कटौती गर्दा सर्वसाधारण अमेरिकी जनतालाई कुनै फाइदा हुँदैन । बरु अन्यत्रबाट आउने सामग्रीमा भन्सार दर उच्च बनाउँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारण अमेरिकनमा पर्छ । ट्रम्पको यो नीतिले पुँजीपति, उद्योगीको पक्षपोषण गर्ने र सर्वसाधारण अमेरिकनको ढाड सेक्ने भन्दै आलोचना शुरु भइसकेको छ । हाम्रा प्रधानमन्त्री ओलीले लिएको नीति पनि यस्तै त होइन ?
पार्टी अध्यक्ष हुँदा मात्र त केही थिएन । तर देशको अभिभावकले यस्तो बेला गरिएको आलोचनालाई सकारात्मक रुपमा ग्रहण गर्नु राम्रो हुन्छ । झूठ र अफवाह फैलाउनेलाई त छाड्नु पनि हुन्न । देशको प्राथमिकता के हो ? ट्रम्पले जस्तै मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरामा जोड दिने कि सर्भिस डेलिभरीमा ? रोजाइ सरकारप्रमुखको । जस–अपजस जाने पनि उनैलाई हो ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू