बेलायतमा मिलाइदिने भन्दै पौने करोड

बेलायतमा मिलाइदिने भन्दै पौने करोड

१४ वर्षदेखि बेलायत बस्दै आएका धनुषा जनकपुर निवासी राम महतोले पढ्न आउने नयाँ विद्यार्थी वा भर्खर बेलायत प्रवेश गरेका नेपालीलाई सुझाव दिने गर्थे, ‘यहाँ अवसर नै अवसर छ । तर, नयाँ परिवेश, नयाँ ठाउँ जो पायो त्यसलाई विश्वास गरिनहाल्नु । पैसाको मामलामा होशियार हुनु । अपराधका काम पनि कहिल्यै नगर्नु ।’ अरुलाई अर्ति उपदेश दिने उनी अहिले आफैं ठगको फन्दामा परेर रुवाबासी छ । बेलायतमा वर्क परमिट भिसा मिलाइदिने आश्वासन दिएर हरपुर– ६ नवलपरासी स्थायी घर भएका नागरिकता नम्बर ३६–०१–७०–१४६८९ का २८ वर्षीय आशिष बानियाँले ८ जनाको ४३ हजार पाउण्ड (करिब ७५ लाख रुपैयाँ) हात पारी गायब भएपछि महतो अहिले ‘डिप्रेसन’ मा पुगेका छन् । आफन्त, साथीभाइले आफूहरूको पैसा फिर्ता चाहियो भनेर नेपालबाट ताकेता गरिरहेका छन् तर पैसा खाने आशिष भने गुमनाम छ । अरुलाई सहयोग गर्न खोज्दा आफैँ खाल्डोमा खसेका महतोले श्रीमती र छोरीको कमाइ जोगाएर आफन्तको पैसा अलि–अलि तिर्दैछन् ।

शुरुमा दिएको ७३ हजार पाउण्डमध्ये भिसा रिजेक्ट भएपछि बल्ल बल्ल ३० हजार पाउण्ड फिर्ता पाए पनि अब लिन बाँकी ४३ हजार पाउण्ड नदिई आशिष सम्पर्कविहीन रहेको महतोको गुनासो छ । लाखौँ पैसा त फँस्यो नै, नक्कली कागजात पेश गरिदिएकाले आवेदकहरूलाई बेलायत आउन १० वर्ष प्रतिबन्धसमेत लागेको छ । 

यसै क्रममा एउटा साथीले आशिष बनियाँ भन्ने व्यक्तिको सम्पर्क नम्बर दियो । बानियाँले महतोलाई साउथ इष्ट लण्डनको उलवीचमा भेट्न बोलायो । ‘मलाई टिके म्याक्स (सुपर स्टोर) विपरीत रहेको भवन मुन्तिर अण्डरग्राउण्डको अँध्यारो कोठामा लग्यो । त्यहाँ विजय ठकुरीसँग परिचय गरायो । ऊ आफ्नो बिजनेस पार्टनर रहेको बतायो, जसले कपडाको होलसेल गर्ने रहेछ । विजयले त्यो अँध्यारो कोठा नै गोदामको रूपमा प्रयोग गर्दै आएको र मैले त्यहाँ कोठाभित्र कपडाहरू राखिएको पनि देखेँ, ’ महतोले सुनाए, ‘यस्तो व्यापार गरिरहेको मान्छे देखेपछि थप विश्वास लाग्यो । सबै कुरा सोधेँ । यदि, भिसा लागेन भने के हुन्छ त, पैसा फिर्ता आउँछ कि नाइँ भन्ने प्रश्न गर्दा कम्पनीका कारण भिजा रिजेक्ट भयो भने भिसा प्रोसेसिङबाहेक सबै पैसा फिर्ता आउँछ भन्यो । मैले दोहोर्‍याएर त्यही प्रश्न गर्दा पनि तपाईं यस कुरामा ढुक्क हुनुस् भनेर दुवै जनाले आत्मविश्वास दिलाए । यसपछि हुन्छ भनेर प्रोसेस अगाडि बढाइदिन लगाएँ ।’

पहिला राम्रै व्यवहार गरिरहेको थियो, महतोले विश्वास पनि गरे । महतोले आफ्नो र पवित्रा डाँगीका आफन्तजन ८ जनाको फाइल प्रोसेस गरिदिन लगाए । ८ अक्टोबर, २०२३ मा महतोलाई कल गरेर आशिषले सुनायो, ‘बधाई छ, तपाईंले दिनुभएको सबै जनाको कस (सर्टिफिकेट अफ स्पोन्सरसिप) आयो । मैले अरु पनि फाइल दिएको थिएँ तर तपाईंको मात्र आयो, अरुको आएन । तपाईं भाग्यमानी हुनुहुँदो रहेछ । अब चाँडै पैसा दिनुपर्छ, मगाउनुहोला ।’

उनले नेपालबाट पैसा जुटाउँदै आशिषलाई दिँदै गए । यो बीचमा बिजनेस पार्टनर भनिएको विजय ठकुरीलाई पनि सम्पर्क गर्न खोजे तर कल कहिल्यै रिसिभ भएन । पैसा दिन आउँदा हरेकपल्ट महतोले विजय सर कहाँ हुनुहुन्छ भनेर आशिषसँग सोध्थे, ‘उहाँ अहिले बिजी हुनुहुन्छ, भर्खरै कुरा भा’को थियो भन्थ्यो । तर, विजय ठकुरीलाई भेटेर कुरा गर्दा त्यो सबै झुटो बोलेको रहेछ भन्ने थाहा भयो, ’ महतोले जनआस्थासँग भने । वर्क परमिट भिसाका लागि अप्लाइ गरेका सरकारी कागजात सबै नक्कली भएपछि सरकारले भिसा दिने कुरै भएन । बरु उल्टो उनीहरूलाई १० वर्ष बेलायत प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

पहिला विद्यार्थी भिसामा आएर हाल पोष्ट स्टडी वर्क भिसामा रहेको चाल्टन लण्डन बस्ने आशिषले वर्क परमिट दिलाइदिने नाममा करोडौं ठगी गरेको पीडितले बताएका छन् । उसले हाकाहाकी नै ‘मैले एक हजार केसबाट मिलियन पाउण्ड कमाइसकेँ, त्यो पैसा राम्रो बिजनेसमा सदुपयोग गर्नु छ’, भन्दै हिँड्ने गरेको महतोले बताए ।

 

टिप्पणीहरू