यति धेरै धरौटी बुझाइदिने श्रोतचाहिँ कुन होला ?

यति धेरै धरौटी बुझाइदिने श्रोतचाहिँ कुन होला ?
सुन्नुहोस्

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत दोषी ठहरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जेल बाहिरै बसेर मुध्दा लड्नका निम्ति रुपन्देही जिल्ला अदालतले अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग गरेको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनीसङ्ग एक करोड रुपैयाँ धरौटी लिने आदेश एकछिनअगाडि सुनाएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार लामिछानेसहित २२ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको थियो । उनी तत्कालीन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा सुप्रिम सहकारीबाट कूल १४ करोड रुपैयाँ लगिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

सरकारी वकिल र जाहेरीकर्ता (पीडित)को तर्फबाट बहस गर्ने वकिलहरुले लामिछानेले सहकारीको बचत दुरुपयोग गरेको पर्याप्त प्रमाण भेटिएका कारण पुर्पक्षमा राखेर अनुसन्धान हुनुपर्ने जिकिर  गरेका थिए । लामिछानेविरुद्ध व्यक्तिगत (दुई करोड) र सामुहिक (दुई करोड) गरी कूल चार करोड बिगो मागदावी गरिएकोमा अदालतले कास्कीको ६५ लाख र काठमाण्डैको ६० लाख भन्दा बढी एक करोड धरौटी मागेको हो ।

यो धरौटी रकम अबको दुई तीन बर्षपछि मुध्दा अन्तिम टुङ्गो नलाग्दा र सफाइ नपाउँदासम्म फिर्ता हुँदैन । त्यतिन्जेलका लागि यति धेरै रकम मायाँ मार्नसक्ने ती दानवीर कर्ण को होलान् ? 

तीन ठाउँमा गरेर लामिछानेले हालसम्म बुझाउनुपर्ने कूल धरौटी रकम दुई करोड २५ लाख पुगेको छ । तीन वटै जिल्ला अदालतले रविलाई निर्दोष मान्न अस्वीकार गर्दै साँझ छिप्पिएपछि धरौटीको आदेश दिएको अवस्था छ । पहिले ६५,अघिल्लो साता ६० र अहिले एक करोड रुपैयाँको धरौटी राती तत्काल बुझाएबाट रविको आर्थिक क्षमता र धरौटीको स्रोतमाथि अर्को प्रश्न उठाइएको छ । स्मरण रहोस्,यो धरौटी रकम अबको दुई तीन बर्षपछि मुध्दा अन्तिम टुङ्गो नलाग्दा र सफाइ नपाउँदासम्म फिर्ता हुँदैन । त्यतिन्जेलका लागि यति धेरै रकम मायाँ मार्नसक्ने ती दानवीर कर्ण को-को होलान् ? यसअघि सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेत,कोषराज वन्त,वासुदेव वली,शैलेन्द्र श्रेष्ठलगायतसहित नेपाल प्रहरीको सुडान काण्डमा मुछिएका आइजीपीहरु ओमविक्रम राणा,रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङमाथि लागेको करोडौं घोटाला काण्डमा धरौटी माग गर्दा बुझाइएको रकम र बैंक ज्ञारेण्टीबारे थप अनुसन्धान गरिएकाले रविमाथि स्वत: प्रश्नचिन्ह उठेको हो ।

त्यतिबेला सबैभन्दा धेरै वन्तसँग १० करोड र वलीसङ्ग दुई करोड धरौटी मागिएको थियो । ती सबै ज्ञारेण्टी रकम सिटिजन्स बैंकले उपलब्ध गराउँदा उनीहरुका आफन्तसमेत शंकाको घेरामा परेका थिए । कसै कसैलाई त कताबाट यत्रो रकम धरौटी बुझाइस् भन्दै तत्कालिन सरकारले अनुसन्धानसमेत शुरु गरेको थियो । भलै त्यही अदालतले पछि सबैलाई निर्दोष सावित गर्यो र धरौटी फिर्ता पनि गरिदियो  तर,रविको हकमा भने भन्नेबित्तिकै रातारात खुइँखुइँ जति धरौटी बुझाए पनि स्रोतको कुनै पर्वाह नगरिएकोमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत छक्क परेको सर्वोच्च अदालत श्रोत बताउँछ ।

टिप्पणीहरू